• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
समाजसेवी झुमरमल मुन्धडाको निधन

राजविराज, ४ कार्तिक । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–३ निवासी समाजसेवी झुमरमल मुन्धडाको ८७ वर्षको उमेरमा आइतवार निधन भएको छ ।
हालको महदेवा गाउँपालिका स्थित भगवतपुर कचहरीमा जन्मिएका उनको मस्तिष्क घातबाट निधन भएको हो । राजविराज नगरपालिका वडा नम्वर–३ स्थित निवासमा उनी एक साता अघि अचानक विरामी परेका थिए ।
दिवङ्गत मुन्धडा सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, साबिक कचन्दाहा गाउँ पञ्चायतको प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य, मैथिली साहित्य परिषद्को संस्थापक कोषाध्यक्ष, वृद्ध सेवा ट्रष्टको संस्थापक सदस्य तथा हाल सनातन धर्म सेवा समिति सप्तरीको अध्यक्षको जिम्मेवारीमा थिए । यस अतिरिक्त उनले हाल शम्भुनाथ नगरपालिका स्थित रामदयाल माध्यमिक विद्यालय कचन्दाहाको संस्थापक, राजविराज स्थित हनुमान मन्दिर स्थापना एवम् व्यवस्थापन, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको जग्गादाता, राजविराज स्थित गौशालाको संस्थापक कोषाध्यक्ष समेत रहेका थिए ।
सामाजिक गतिविधीमा सक्रिय रहँदैआएका मुन्धडा केही समयदेखि अस्वस्थ रहँदैआएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । दिवङ्गत मुन्धडाका तीन छोरा वैद्यनाथ मुन्धडा, जगरनाथ मुन्धडा र महेन्द्र मुन्धडा तथा दुई छोरी शान्ति मुन्धडा र विजयलक्ष्मी मुन्धडा रहेकी छिन् । हिन्दू परम्परा अनुसार सोमवार उनको अन्तिम संस्कार गरिएको छ ।