• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चाडपर्वमा पनि राजविराज नगरपालिकामा फोहोर कायमै

चाडपर्वमा पनि राजविराज नगरपालिकामा फोहोर कायमै

राजविराज, ०३ कात्र्तिक । नजिकिदैं गरेको तिहार र छठ पर्वलाई लक्षित गरी मुलुकभरका गाउँदेखि शहरसम्मलाई सरसफाई गरी स्वच्छ र सुन्दर बनाउने कार्यलाई तिव्रता दिइएको छ । तर, फोहोर व्यवस्थापन गर्न नसक्दा मुलुककै पहिलो टाउन प्लानिङ्ग गरी बसाइएको सप्तरीको राजविराज नगर भने चाडपर्वकै मुखमा आएर दुर्गन्धित र झन कुरुप बनेको छ ।
भारतको गुलाबी शहर भनिने जयपुर शहरको नक्शामा २०१६ सालमा स्थापना भएको नगर हो, राजविराज नगरपालिका । झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहिन रहेका कारण अस्तव्यस्त हुन पुगेको राजविराज नगरले जनप्रतिनिधि पाएको तीन वर्ष वितिसक्दा समेत कोल्टे फेर्न नसकेको प्रति नगरवासी दुःख व्यक्त गरेका छन् ।
‘दुई दशकसम्म जनप्रतिनिधिविहिन रहँदा नगरको अवस्था ज्यूकाँ त्यू नै रह्यो’ नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवले भने–‘तीन वर्ष यता नगरले जनप्रतिनिधि पाए र व्यवस्था फेरियो, तर नगरको भने अवस्था फेरिएन् ।’ उनले जनप्रतिनिधिहरुले योजनाका साथ काम नसक्दा नगर ‘डम्पिङ्ग साइट’ जस्तो देखिन थालेको बताए । ‘जनप्रतिनिधिको सरसफाईतर्फ ध्यान पुगेकै छैन्, जसका कारण जतातत्तै फोहोर थुपारिएर नगर नै दुर्गन्धित बनेको छ’ उनले थपे–‘कम्तिमा चाडवाडको बेला त सरसफाईतर्फ ध्यान पु¥याएर काम गर्नुपर्ने थियो, तर मतलवै देख्दिन् ।’
स्थानीय श्यामकुमार यादवले जनप्रतिनिधि र कर्मचारीले नगरमा सरसफाईको व्यवस्थापनतर्फ ध्यान नदिनु ज्यादै दुःखद रहेको बताए । ‘जनप्रतिनिधिसँग पक्कै पनि यस्तो अपेक्षा थिएन्, कम्तिमा दुर्गन्धले नगरवासीमा हुन सक्ने स्वास्थ्य सम्वन्धि खतराको पनि ख्याल गर्नुपर्ने थियो’ उनले भने–‘त्यसैले चाडवाडको बेला मात्रै होइन्, अरु बेला पनि सरसफाईमा ध्यान दिएर काम गर्नु जरुरी छ ।’
‘लापरवाहीको पनि हदै पार गरेको छ’ उनले थपे–‘जसका कारणले नगर नै कुरुप बन्दै गएको छ ।’
उनले सुँगुर, छाडा पशुचौपाया र अव्यवस्थित पार्किङ्गको समस्याले समेत नगरवासी हैरानी खेप्न बाध्य रहेको गुनासो गरे । यता, नगर प्रमुख शम्भुप्रसाद यादवले कर्मचारी र साधन अभावका फोहोर व्यवस्थापन गर्न केही कठिनाई भईरहेपनि ठोस योजनाका साथ अघि बढेको बताए ।
‘फोहोर व्यवस्थापन गर्न केही ढिलाई भएकै हो, ठोस योजनाकासाथ अघि बढेकोले केही समयभित्र फोहोर व्यवस्थापन, सँुगुर र छाडा पशुचौपाया नियन्त्रण तथा पार्किङ्गको समस्या सामाधान हुन्छ ।’ १६ वटा वडा रहेको नगरमा ६७ हजार २ सय ६२ जनसङ्ख्या रहेको छ ।