राजविराज, २४ असोज । चाडपर्व लक्षित सप्तरीको विभिन्न बजारमा प्रतिबन्धित विस्फोटक पदार्थ पटाकाहरू भित्रिने क्रम बढेको छ ।
वडादशैं, दीपावली तथा छठ पर्वमा स्थानीयले उल्लेख्य रुपमा पड्काउने गरेकाले यो समयमा ठूलो परिमाणमा विस्फोटक पदार्थ भित्रियाउने क्रममा बढेको हो । दीपावली र छठ पर्वअघि नै नेपाल भित्राएर भण्डारण गर्ने र पर्वको समयमा काठमाण्डौंसम्म पु¥याउने गरेकाले व्यापारीहरु यतिवेला अत्यधिक रुपमा विस्फोटक पदार्थ पाटाकाहरु सो कार्यमा व्यस्त रहेको श्रोतको दावी छ ।
भारतीय बजारबाट चोरीपैठारी गरी भित्रियाइने विस्फोटक पदार्थ पटाकाहरुको जिल्लाका विभिन्न बजारमा लुकिछिपी खरिद विक्री पनि सुरु भएको छ । यसैबीच सप्तरी प्रहरीले बोदे वरसाइन नगरपालिका–९ स्थित स्वर्णपट्टी नाकाबाट नेपालतर्फ भित्रियाउँदै गरेको ठुलो परिमाणको विस्फोटक पदार्थ विहिवार साँझ नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बोदे बरसाइनबाट खटिएको प्रहरी टोलीले रकेट हाइड्रोबम, सुप्रिम हाइड्रो फोइलस्ट, फ्लोभर पोष्ट डेलुक्स, किग्स कोब्रा, लिटल बोस क्राकिङ्ग, नागीन पाटाका, नागीन चकर, ग्राउण्ड चकर लगायतका विस्फोटक पदार्थ पाटाका नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सो विस्फोट पदार्थ पाटाकाको बजार मुल्य एक लाखबढी रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सप्तरीका एसपी कृष्ण प्रसाईंले यस्ता विस्फोटक पदार्थहरुले आगलागी, चोटपटक र अंगभंग हुने गरेकाले यसलाई नियन्त्रण गर्न जिल्लाभरि विशेष टोली परिचालन गरिएको बताए ।