Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मिथिला–मधेशका जिल्लाहरुमा मनाईदै जितिया पर्व

मिथिला–मधेशका जिल्लाहरुमा मनाईदै जितिया पर्व
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ असोज । मिथिला–मधेशका जिल्लाहरुमा जितिया पर्व धार्मिक विधिपूर्वक भव्यतापूर्वक मनाइँदै छ ।
मधेशमा बसोवास गर्दैआएका विभिन्न जातजाति तथा समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्छन् । थारु जातिका आमाहरूले आ–आफ्ना सन्तानको दिर्घायु एवं मङ्गलमय कामनाका लागि मनाइने गर्छन् ।
व्रतालु महिलाहरुले शुक्रवार पोखरी, तलाउ, जलाशयमा गई नुवाई–धुवाई गरी औपचारिक रुपमा व्रतको शुरुवात गरेका छन् । शनिवार विहान ओठगन अर्थात दही, च्युरा, चिनी, केरा, मिठाई ईत्यादी जिमुतवाहनलाई चढाएर प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । यसवर्ष शनिवार दिनभरी तथा आइतवार तीन बजेसम्म उपवास बस्नुपर्ने समय निर्धारण गरिएको जनाईएको छ ।
विगतका वर्षहरु भन्दा यो वर्ष उपवासको समय लामो रहेको पंडित राजिव कुमार झाले जानकारी दिएका छन् । यो पर्वमा लामो उपवास बस्नुपर्ने भएकोले व्रत शुरुभन्दा केही समय अघि इच्छा अनुसार खानाको विभिन्न परिकार बनाएर खाने गरिन्छ । जितिया पर्वको विषयमा ‘जितिया पावैन बड्ड भारी, धियापुताके ठोइक सुताबे, अपना खाय भइर (भरि) थारी’ गीत अत्यन्त लोकप्रिय रहेको छ । जितिया कठोर पर्व भएकोले आफ्ना बच्चाहरुलाई सुताएर आनन्दपूर्वक व्रतालु महिलाहरुले पेटभरी खाने गरिएकोले यो गीत समाजमा प्रचलित छ ।
पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने कठोर विधि विधान रहेको छ । विशेष श्रद्धा भक्ति तथा निष्ठापूर्वक मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु महिलाहरूले पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गर्नुका साथै घेराको पातमा खली र तेल चढाउने गरिन्छ ।
सोही दिन राती १२ बजेको समयपछि विहानको समयमा व्रतालु महिलाहरुले आँगनमा घेराको पातमा दही, चिउरा, चिनी, केरा आदि फलफूलसमेतको प्रसाद ‘जिमुतवाहन’लाई चढाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि परिवारका बालबालिकाका साथै सम्पूर्ण सदस्यहरू दही–च्युरा, मिठाई, फलफूललगायतका भोजन गर्ने गरिन्छ ।
मध्यरात्री पछिको समयमा ग्रहण गरिने खानेकुरालाई ‘ओटघन’ भनिन्छ । मीठामीठा खानेकुरा प्रसादको रुपमा खान पाइने भएकोले जितिया पर्वप्रति बालबालिकाहरुको विशेष आकर्षण रहने गर्दछ । लामो निराहारपछि व्रतको तेस्रो दिन अर्थात नवमी तिथिका दिन विहान पोखरी तलाउमा गई दही, केरा आदिको प्रसाद चढाएर विधिवत रुपमा पर्वको विदाई गरिन्छ । तत्पश्चात मात्र व्रतालु महिलाले भोजन ग्रहण गर्ने धार्मिक मान्यता रहँदैआएको छ ।
लामो उपवास पछि ग्रहण गरिने भोजनलाई पारन भनिन्छ । थारु समुदायका महिलाहरुले भने यो पर्वलाई थप महत्वकासाथ मनाउने गर्दछन् । थारु महिलाहरुले भने माइत गएर पर्वलाई हर्षोउल्लासका साथ मनाउने गर्छन् । व्रत बसेको समयमा जितवाहनको कथा सुन्ने अनिवार्यता रहेको छ ।
यसका पर्वका अवसरमा विभिन्न गाउँहरुमा मूर्ति समेत बनाएर पूजा–आजा गर्ने गरिन्छ । यो पर्वमा गाई, परेवा, काग, कुकुर, हाँस, मुसो लगायतका जनावरहरूको पूजा–आजा समेत गर्ने परम्परा रहेको छ । मैथिल तथा थारु समुदायमा विशेष महत्वका साथ मनाइने यो पर्व चिल र स्यालको पूजा गर्ने गरिन्छ ।
आमाले जितिया पर्व गरेपछि सन्तानको दिर्घायु, अकालमृत्यू तथा भूतप्रेत आदिको संकटबाट बचाउने मान्यता रहेको छ । कतिपय संकटपूर्ण अवस्थाबाट ज्यान जोगिएपछि आमाले खरजितिया पर्व गरेकोले नै जोगिएको जनविश्वास रहेको छ ।

Online Saptari

About The Author

%d bloggers like this: