• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जमेको फोहोर पानीका कारण मुसहर वस्तीमा रोग फैलिने सम्भावना

जमेको फोहोर पानीका कारण मुसहर वस्तीमा रोग फैलिने सम्भावना

राजविराज, ३ असोज । दुई महिनाअघि निरन्तरको वर्षाले जमेको पानीका कारण सिरहाको मिर्चैया नगरपालिका वडा नम्वर ४ मा करिब ३० घर मुसहर दलित वस्तीको जनजीवन कष्टकर बन्न पुगेको छ ।
बस्तीमा जमेको फोहोर पानीको निकास एवम् व्यवस्थापन हुन नसकेका कारण उनीहरुको जनजिवन कष्टकर बन्न पुगेको हो । आर्थिक एवम् सामाजिक रुपमा अति विपन्न मानिने मुसहर समुदायको उक्त वस्तीमा दुई महिनादेखि फोहोर पानीले जमेको छ ।
फोहोर पानीको समुचित व्यवस्थापन गर्न कसैले ध्यान नदिएका कारण वस्तीमा विभिन्न रोगको संक्रमण फैलिएको छ । मुसहर वस्तीमा रोगका कारण गत सोमबार ११ वर्षीय किरण सदाको ज्यान गएको अभियन्ता राजेश विद्रोहीले जानकारी दिएका छन् ।
स्थानीय मालती सदायका अनुसार एक महिनादेखि ज्वरो आएका ती बालकलाई जनकपुर लगायत विभिन्न ठाउँमा उपचारकालागि लगिए पनि निको नभएर मृत्यु भएको हो । उपचारको क्रममा मुसहर भएको भन्दै उपचारमा समेत लापर्वाही समेत गरेको उनको आरोप छ ।
मुसहर वस्तीमा विगत दुई महिनादेखि जमेको फोहोर पानी व्यवस्थापन गर्न स्थानीय जनप्रतिनिधीले तत्काल चासो लिनुपर्नेमा यसरी गरिएको लापर्वाहीप्रति अभियन्ता विद्रोहीले गम्भीर आपत्ति जनाएका छन् । तत्काल सम्वन्धित निकायलाई मुसहर वस्तीको समस्यालाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरेका छन् ।