• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

राजविराज नपाको बजेटमा जनप्रतिनिधि र कर्मचारीको मनपर्दी

व्यक्तिगत मोबाइल खरिदमा खर्चियो पाँच लाख
राजविराज नपाको बजेटमा जनप्रतिनिधि र कर्मचारीको मनपर्दी

राजविराज, २ असोज । जनतालाई करको भार कम गर्न स्थानीय सरकारले ख्याल गरेर अघि बढ्नुपर्ने सरोकारवालाहरुले सुझाई रहँदा जनप्रतिनिधिहरु आफै सेवा सुविधामा बजेट खर्चिनमा खप्पिस देखिएका छन् ।
जनतामाथि अनावश्यक शीर्षकमा थपिन गएको करको भार कम गर्ने तथा उनीहरुकै आधारभुत आवश्यकतामा बढी केन्द्रित भएर बजेट खर्च गर्नुपर्ने जनप्रतिनिधिको दायित्व पनि हो । तर राजविराज नगरपालिकाका जनप्रतिनिधिले भने निजी प्रयोजनकालागि मोवाइल खरिदमै लाखौं रुपैयाँ खर्च गरेको पाइएको छ ।
नगरपालिकाको महालेखा परीक्षकको वार्षिक लेखा परिक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४÷०७५ मा जनप्रतिनिधिहरुले ४ लाख ६६ हजार ९ सय ९३ रुपैयाँको मोवाइल सेट खरिद गरेको छ । प्रदेश २ सरकारले स्थानीय पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न ल्याएको ऐन २०७५ अनुसार पदाधिकारी तथा सदस्यहरुले मोवाइल सेट खरिद गर्न पाउँदैनन् । तर जनप्रतिनिधिहरुले ऐनलाई समेत लत्याएर निजी प्रयोगजनकालागि मोवाइल सेट खरिद गरेको पाइएको हो ।
प्रतिवेदनमा समेत सरकारी बजेटबाट अनियमित खर्च गरेको ठहर गर्दै मोवाइल प्रयोग गरिरहेका सम्वन्धित प्रयोगकर्ताबाट उक्त रकम असुल गर्न भनिएको छ । प्रतिवेदनअनुसार वडा नम्वर ४ का वडाध्यक्ष मो.अख्तर अलीले १४ हजार रुपैयाँको १ थान सामसुङ मोवाइल, वडा नम्वर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले ४९ हजार ४ सय ९४ रुपैयाँको १ थान ओपो मोवाइल, वडा नम्वर १६ का वडाध्यक्ष बुचाई दास तथा वडा सदस्यहरु सीता देवी मण्डल, उस्मान मियाँ, राम किसुन मण्डल र जागेश्वरी देवी रामले २७ हजार ६ सय रुपैयाँको ५ थान माइ हिरो र सामसुङ मोवाइल खरिद गरेको छ ।
यसैगरी वडा नम्वर १४ का वडाध्यक्ष शोभालाल मण्डल तथा वडा सदस्यहरु कोशीला देवी मण्डल, शान्तिदेवी सदा, अभिनन्दन मण्डल र दानालाल साहले १ लाख १६ हजार ६ सय १६ रुपैयाँको ५ थान माइक्रोम्याक्स मोवाइल, वडा नम्वर ९ का वडाध्यक्ष शम्भुप्रसाद यादव र वडा सदस्यहरु रुकसना खातुन, रेखादेवी मण्डल, चन्द्र यादव र भुपेन्द्र यादवले ७२ हजार ३ सय २० रुपैयाँको ५ थान स्मार्टफोन खरिद गरेको छ ।
वडा नम्वर १३ का वडाध्यक्ष राजेन्द्र प्रसाद यादव र वडाध्यक्ष वडा सदस्यहरु अनिला देवी चौधरी, बुधनी देवी राम, कृष्णदेव यादव र जयनारायण यादवले ९० हजार रुपैयाँको ५ थान माइक्रोम्याक्स मोवाइल, वडा नम्वर १० का वडाध्यक्ष सुशीलकुमार दास र वडा सदस्यहरु गिरिजाकुमारी यादव, महन्थी यादव र कारोदेवी सदाले ४३ हजार ३ सय ६३ रुपैयाँको ४ थान सामसुङ मोवाइल खरिद गरेको प्रतिवेदनमा देखाइएको छ ।

कर्मचारीलाई समेत मोवाइल
कर्मचारीहरुले समेत सरकारी बजेटबाटै मोवाइल खरिद गरेको पाईएको छ । सरसफाई फाँटका रामकुमार यादव, वारुणयन्त्रतर्फका उमेशकुमार यादव, वडा नम्वर ४ का वडा सचिव ओमप्रकाश यादव र वडा नम्वर १ की सचिव रीता साहले १–१ थान मोवाइल खरिद गरेको प्रतिवेदनमा छ ।
प्रतिवेदनअनुसार सरसफाई फाँटका यादवले १५ हजार २ सय ५५, वारुणयन्त्रतर्फका यादवले १७ हजार ५ सय, वडा नम्वर ४ का वडा सचिव साहले १३ हजार र वडा नम्वर ३ की वडासचिव साहले २ हजार ५ सय रुपैयाँको मोवाइल खरिद गरेको छ ।
निजामति सेवा ऐन २०४९ ले निजी प्रयोगकालागि सामान खरिद गर्न सुविधा नरहेको तथा कानूनले दिएभन्दा बढी सुविधा प्रयोग गरेकोले त्यस्ता कार्यलाई तत्काल नियन्त्रण गरी सरकारी बजेटको उचित उपयोग गर्न प्रतिवेदनमा सुझाव समेत दिइएको छ ।