• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपाद्वारा राजविराजमा कालो झण्डासहित प्रदर्शन

राजपाद्वारा राजविराजमा कालो झण्डासहित प्रदर्शन

राजविराज, २ असोज । संविधान दिवसको विरोधमा राष्टिय जनता पार्टी नेपाल समर्थित सप्तरी युवा विद्यार्थीहरुद्वारा विहीबार राजविराजमा मोटरसाईकल सहित कालो झण्डा प्रदर्शन गरिएको छ ।
राजपा नेपालद्वारा घोषित विरोध कार्यक्रम अन्तर्गत संविधान दिवसको पुर्वसन्ध्यामा राजविराजमा मोटरसाइकल र्याली आयोजना गरिएको हो । असोज ३ गते संविधान दिवसलाई लक्षित गरी गजेन्द्र चौकबाट निकालिएको जुलुस नगरको रूपनी बसस्टेन्ड, राजदेवी चौक, पडरिया, नेता चौक, तेतरी गाछी, झलही सहितका ठाउँहरु परिक्रमा गरेको छ ।
यसअघि युवा विद्यार्थीहरूले गजेन्द्र चौकमा सरसफाई गर्दै कालो झण्डा समेत प्रदर्शन गरेका छन् । सो अवसरमा प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय जनता पार्टीका केन्द्रिय सह–महासचिव गजेन्द्र कुमार मण्डल, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, राष्ट्रिय जनता पार्टीका जिल्ला संयोजक हरेराम यादव, राजविराज नगरपालिकाका उप–प्रमुख साधना झा, केन्द्रीय सदस्य दिनेश कुमार यादव, राष्टिय विद्यार्थी जिल्ला अध्यक्ष शम्भु यादव लगायतका नेता तथा कार्यकर्ताहरू विरोध कार्यक्रममा सहभागी भएका छन् ।
राजपाको सोमवार सम्पन्न बैठकले माइकिङ्गद्वारा प्रचार–प्रसार, कालो झण्डा प्रदर्शन, मोटरसाइकल रयाली, विरोध सभा सहितका कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुरुप असोज २ र ३ गते प्रचारप्रसारको लागि म्याकिंग गर्ने, २ गते बिहान ७ बजे गजेन्द्र चौकमा कालो झण्डा प्रदर्शन गर्ने, ३ गते बिहान ७ बजे सरकारी कार्यालय र चौक चौकमा कालो झण्डा गाड्ने र प्रदर्शन गर्ने निर्णय गरिएको जिल्ला संयोजक हरेराम यादवले जानकारी दिएका छन् । उनका अनुसार असोज ३ गते साढे ११ बजेदेखी कालो झण्डा सहित मोटरसाईकल र्याली र दिउँसो ३ बजे जनआन्दोलन चौकमा विरोध सभा गर्ने कार्यक्रम रहेको अध्यक्षमण्डल सदस्य सुनिल कुमार झाले जानकारी दिएका छन् ।
राजपाको बैठकले क्षेत्र नम्वर १ मा शैलेश कुमार साह, क्षेत्र नम्वर २ मा सतिशकुमार सिंह, ३ मा शिवनारायण साह, ४ मा मृगेन्द्रकुमार सिंह यादवलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।
यता संविधान दिवस तथा मूल समारोह समिति २०७६ को आह्वानमा देशैभरी असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासपूर्वक मनाउन लागिएको सूचना तथा प्रशारण विभाग सञ्चारग्राम काठमाण्डौद्वारा प्रेषित सूचनामा जनाईएको छ ।