• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउन अभियानको प्रगती, उपलब्धी, चुनौती र अगामी चरणहरु

जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउन अभियानको प्रगती, उपलब्धी, चुनौती र अगामी चरणहरु
राज कुमार महतो (संस्थापक अभियानी, जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचिकृत गराउन अभियान)

 जनकपुरधाम र जानकी मन्दिर विश्व प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य हुन् । प्राचीन शहरको वैभव जानकी मन्दिर हो । तर, जानकी मन्दिर विश्व सम्पदा सूचीमा अझै पर्न सकेको छैन । त्यसका लागि जनकपुरधाम उप(महानगरपालिका र पुरातत्व विभाग काठमाडौंले ठोस प्रशासनिक तथा प्राविधिक कार्यहरु गर्नुपर्ने देखिन्छ ।
१ अक्टोबर २०१४ बाट जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सूचीकृत गराउने अभियान शुरु भएको हो । हालसम्म भएका प्रगतिको विवरण लगायत कागजात अभियानको तर्फबाट भोरले जनकपुरधाम उप(महानगरपालिकाका नगर प्रमुख लाल किशोर साहलाई हस्तान्तरण गरि सकेको छ ।
युनेस्को, स्थानीय सरकार, नेपाल सरकार, जानकी मन्दिर लगायत जिम्मेवार नियकायहरुलाई निरन्तर घच्घचाउने काम अभियानमार्फत भइरहेको छ । जनकपुरधाम उप(महानगरपालिकाले प्रथम नगर सभामार्फत जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचीकृत गराउने कार्यको अपनत्व लिइसकेको छ । पहिलो बाषिर्क नीति तथा कार्यक्रममा यसलाई समेट्दै नगर प्रमुख लाल किशोर साहले युनेस्को तथा पुरातत्व विभागमा छलफल समेत गरेका छन् । तर, यत्तिले मात्रै पुग्दैन, नगरपालिकाले जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत नभएसम्म यसको नेतृत्व लिएर काम अघि बढाउनुपर्छ ।
शुरुमा हस्ताक्षर अभियान
अठारौं शताब्दीमा निर्मित कला, संस्कृति, आर्किटेक्चर, इतिहास, र अध्यात्मको अद्वितीय संगमका रुपमा जानकी मन्दिर छ । सन् २००८ मा नेपाल सरकारको पुरातत्व विभागले जानकी मन्दिरलाई युनेस्कोमा ‘टेन्टेटिभ लिस्ट’ मा दर्ता गराएको थियो । तर, त्यसपश्चात, सन् २०१४ सम्म जानकी मन्दिरलाई विश्व सम्पदामा लान सरकारले खासै पहल गरेन । जनकपुर क्षेत्रका राजनीतिक दल, सरकारी निकाय र जानकी मन्दिरका व्यवस्थापक मौन बसे ।
राष्ट्रिय गौरवका रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रुपमा सुचीकृत गराउन औपचारिकरुपमा १५ असोज ०७१ देखि भोर नामक संस्थाले हस्ताक्षर अभियान शुरु गरेको थियो । युनेस्कोको विश्व सम्पदा सुची केन्द्रको कार्य विधिले तय गरेका आधारहरु पूरा भइसक्दा पनि सूचीकृत नभएकाले दबावमूलक अभियान आवश्यक ठानियो ।
यसअभियानका लागि अनलाइन हस्ताक्षरको समेत व्यवस्था मिलाइएको थियो । ७७ वटै जिल्लाका नेपाली नागरिक तथा भारत, बांगलादेश, कतार, अमेरिका, बेलायत, दुबई, पाकिस्तान, श्रीलंका, कोरिया, फ्रान्सलगायत विभिन्न देशका नागरिकले हस्ताक्षर गरे । अभियानप्रति जनसमुदायको चासो र ऐक्यवद्धता तिव्ररुपमा वृद्धि हुँदै गयो । फलस्वरुप, विभिन्न जिल्लाहरुमा स्वतःस्फूर्त रुपमा हस्ताक्षर अभियान सञ्चालन भए । ५५ हजारभन्दा बढी मानिसको हस्ताक्षर नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागलाई ०७२ भदौ ४ मा हस्तान्तरण गरियो ।
अभियानको उपलब्धि र आगामी बाटो
त्यसबखत युनेस्कोको विश्व सम्पदा सुची केन्द्रको कार्य्विधिअनुसार जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सुचीकृत गराउन नोमिनेशन फाइल तयार पारी पेश गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागले लिखित प्रतिवद्धता पत्र अभियानलाई प्रदान गरेको थियो ।
हस्ताक्षर र प्रतिवद्धताका बारेमा जनकपुरधाममा जानकारी गराउन र अगामी कदमहरुको दिशा तय गर्न २९ फाल्गुण ०७२ मा जानकी मन्दिरको प्राङगणमा भेला अयोजना भयो । भेलाले नेपाल सरकार, पुरातत्व विभागलाई जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रुपमा सुचीकृत गराउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया अगाडि बढाउने क्रममा सम्पूर्ण मापदण्ड मान्य हुने तथा जनकपुरबासीको सम्पूर्ण साथ र सहयोग रहने निर्णय सर्वसहमतीले पारित गर्योा ।
नोमिनेशन फाइल तयार पार्न र यूनेस्को विश्व सम्पदा केन्द्र, फ्रान्समा पेश गर्ने प्रक्रिया तत्काल शुरु गर्न जनकपुरबासी, सरोकारवालाहरुले गरेको प्रतिबद्धता र अनुरोध पत्र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री आनन्द पोखरेल र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहाललाई ०७३ असार १ मा काठमाडौंमा हस्तान्तरण गरिएको थियो ।
त्यसपछि नेपाल सरकारका विभिन्न निकाय, राजनितीक दल, सामाजिक संस्थाहरु, सञ्चार क्षेत्र, र युनेस्कोसँगका विभिन्न चरणका फलोअप तथा बैठकहरु पश्चात पुरातत्व विभागले जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रुपमा सुचीकृत गराउनका लागि नोमिनेशन फाइल तयार पार्न र यूनेस्को विश्व सम्पदा केन्द्र, फ्रान्समा पेश गर्ने प्रक्रियाको तपसिल बमोजिमका ठोस प्रशासनिक तथा प्राविधिक कदमहरु आवश्यक रहेको सहमतीय निर्णयमा पुग्यो ।
१. पुरातत्व विभाग, स्थानीय सरकार तथा निकायहरु र अभियानसहितको कुशल र प्रभावकारी कार्य समन्वय समिती जनकपुरधाममा गठन गर्ने ।
२. जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रुपमा सुचीकृत गराउन नोमिनेशन फाइल तयारीका लागि स्थानीय सरकार र सरोकारवालाहरुले सीमाना निर्धारण गर्ने ।
३. जानकी मन्दिरलगायत जनकपुर क्षेत्रलाई नेपाल सरकारद्वारा संरक्षित क्षेत्रका रुपमा घोषणा गराउने।
४. जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रुपमा सुचीकृत गराउन नोमिनेशन फाइल तयार पार्ने र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्य र पुरातत्व विभागका नेतृत्वमा युनेस्को विश्व सम्पदा केन्द्र, फान्समा पेश गर्ने
अभियानका क्रममा आएका बाधा अडचन
गत साल असारमा एनआरएनले जानकी मन्दिरभित्र विद्युतीकरण गर्ने भनेर सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्पूर्ण जानकी मन्दिरमा विद्युतीकरण गर्ने योजनाले जानकी मन्दिरको पुरातात्विक महत्व, विश्वस्तरीय मूल्यमान्यता र वातावरणमा उल्लेखनीय दीर्घकालीन नकारात्मक प्रभाव पार्ने निश्चित छ । यसरी जानकी मन्दिरभित्र उच्चस्तरमा गरिने विद्युतीकरण कार्यले जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचीकृत गराउने कार्यमा बाधा पुग्ने निश्चित भएको तथा मन्दिरको संरचनामा पनि संकट आउँछ ।
भोरले एनआरएन एसोसिएशनको काठमाडौंस्थित कार्यालयमा विद्युतीकरण कार्यलाई पुरातत्व विभाग तथा पुरातत्व विज्ञहरुको स्वीकृति बिना काम अगाडि नबढाउन ३१ अषाढ ०७५ को दिन ज्ञापन पत्र बुझाएको थियो । त्यसको प्रतिक्रियामा एनआरएनले जानकि मन्दिरलाई नकारात्मक असर पर्ने गरी र पुरातत्व विभाग तथा पुरातत्व विज्ञहरुको स्वीकृतिविना उक्त विद्युतीकरण कार्य अगाडि नबढाउने प्रतिवद्धता जनायो । विद्युतीकरण कार्य अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।
प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिरको परिसर सुधारका लागि जानकी मन्दिरको कम्पाउन्डभित्र मार्वल लगाउने योजना अगाडि बढाएको छ ।
जानकी मन्दिरको परिसर सुधार गर्न सहमति मागसम्बन्धी प्रदेश २ सरकारको पत्रको आधारमा जानकी मन्दिरसँग तादात्म हुने गरी तथा मन्दिरको साविकको दृश्यलाई नकारात्मक असर नपर्ने गरी काम अघि बढाउने भनिएको छ । विश्व सम्पदाको सम्भावित सुचीमा सुचीकरण गर्ने कार्य प्रभावित नहुने गरी पुरातत्व विभागले ०७५ पुस २२ को पत्रमार्फत सहमति प्रदान गरेको थियो ।
तर, प्रदेश २ सरकारका मन्त्रालयहरुबाट पुरातत्व विभागको स्वीकृति विपरीत जानकी मन्दिरको मौलिकता तथा संरचनालाई नै संकटमा पार्ने गरी मन्दिर परिसरभित्र भवन निर्माण कार्यको थालनी भएको थियो । पुरातत्व विभागबाट नै जानकी मन्दिर संरक्षण योजना अन्तरगत जानकी मन्दिरभित्रको छत माथि ६ वटा शक्तिशाली ड्रिलको प्रयोग गरेर मन्दिरको संरचनालाई क्षति पुग्ने गरी तोडफोडको कार्य पनि भयो । जसले गर्दा मौलिक शैलीमा निर्माण गरिएको जानकी मन्दिरको संरचनामा नकारात्मक असर परेको प्राविधिकहरु बताउँछन् ।
जानकी मन्दिरको मौलिकता तथा संरचनामा गम्भीर असर पर्ने गरी भइरहेको निर्माण तथा तोडफोड जस्ता कार्यहरुले जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सुचीकृत हुन ठूलो बाधा अडचन पुग्छ । जानकी मन्दिरको मौलिकता तथा संरचनामा संकट थप्ने र पुरातत्व विभागको स्वीकृति बाहिर गएर भइरहेको निर्माण तथा तोडफोड कार्यलाई तत्काल बन्द गराउन आवश्यक छ । त्यसका लागि पुरातत्व विभागका महानिर्देशकलाई भोरको सहजीकरणमा सञ्चालित जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सुचीकृत गराउने अभियानले गत साउन १२ मा ज्ञापनपत्र बुझाएको थियो ।
सोही पत्रका आधारमा पुरातत्व विभागको विश्व सम्पदा शाखा, पुरातत्व शाखा तथा योजना शाखा र भोरको सहभागितामा छलफल बैठक बसेको थियो । प्राप्त पत्र र बैठकको छलफलका आधारमा जानकी मन्दिरको परिसरभित्र भइरहेको भवन निर्माण कार्य तुरुन्तै रोक्ने र जानकी मन्दिरको छतमाथि प्रयोग भइरहेका ६ वटा ड्रिल मेशिनलाई रोकी बढीमा २ वटा मात्र प्रयोग गर्ने निर्देशन दिँदै पुरातत्व विभागले उक्त गलत कार्यलाई निरुत्साहित गरेको छ ।
तीन तहको सरकारको आगामी जिम्मेवारी
अब मुलुकमा तीन तहको सरकार छ । स्थानीय सरकार गठन भइसकेपश्चात भोरले जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सुचीकृत गराउन अभियानको सम्पूर्ण औपचारिक कागजातहरु, फोटोहरु, मिडिया कभरेज तथा अन्य डकुमेन्टहरु २०७४ माघ २९ गते जनकपुरधाम नगरपालिकामा बुझाइसकेको छ । अब बाँकी प्रशासनिक तथा प्राविधिक कार्यहरु स्थानीय सरकारका रुपमा जनकपुरधाम उपमहानगरपालिकाले नै तदारुकताका साथ अगाडि बढाउनुपर्छ । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले पनि जानकी मन्दिरलाई विश्व सम्पदाको रुपमा सुचीकृत गराउनुपर्छ भनेर पटक(पटक बोलेका छन् ।
जनकपुरधाम उप महानगरपालिका तथा प्रदेश २ सरकारले जानकी मन्दिरलाई विश्व सम्पदाका रुपमा सुचीकृत गराउनका लागि आवश्यक प्रसाशनिक तथा प्राविधिक कार्य गर्न बाषिर्क कार्यक्रम तथा बजेटमा आवश्यक बजेट व्यवस्था गर्नु अति आवश्यक भईसकेको छ ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका र प्रदेश २ सरकारको सम्बन्धित मन्त्रालय भित्र पुरातत्व तथा विश्व सम्पदा युनिट स्थापना गर्नुपर्छ । शाखामा विश्व सम्पदाको फोकल पर्सनका रुपमा कर्मचारी व्यवस्थापन हुनुपर्छ ।
यस्तो कदमले जानकी मन्दिरलाई विश्व सम्पदाका रुपमा सुचीकृत गराउने कार्य अगाडि बढ्ने छ । यी कार्यहरु यथाशीघ्र अगाडि बढाइयो भने अगामी ३ देखि ४ वर्षभित्र जानकी मन्दिरलाई हामीले विश्व सम्पदाका रुपमा देख्ने सौभाग्य प्राप्त गर्नेछौं । पक्कै पनि यसले प्रदेश नम्बर २ को सांस्कृतिक, सामाजिक, पर्यटकीय तथा आर्थिक समृद्धिमा रणनैतिक तथा दुरगामी प्रभाव पार्नेछ ।