• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कर्मचारीको बदमासीले राजविराजका बालबालिका आन्दोलित

नगर प्रमुखलाई ज्ञापन पत्रसहित ५ रुपैयाँ सहयोग
कर्मचारीको बदमासीले राजविराजका बालबालिका आन्दोलित

राजविराज, २९ भदौ । देशभरका बालबालिकाहरुले राष्ट्रिय बाल दिवश मनाईरहेको बेला सप्तरीको राजविराज नगरपालिकाका बालबालिकाहरु भने नगरपालिका विरुद्ध आन्दोलित भएका छन ।
नगरमा जनप्रतिनिधि आएसँगै बालबालिकालाई वेवास्ता गर्दै आएको तथा ५५ औ राष्ट्रिय बाल दिवशमा समेत कुनै कार्यक्रम नराखेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । बालबालिकाहरुले आइतवार बजारभरि जनप्रतिनिधि विरुद्ध नारा–जुलुश गर्दै नगर प्रमुखलाई ज्ञापन पत्रसमेत वुझाएका छन ।


ज्ञापन पत्रसँगै बालबालिकाहरुले नगरपालिकालाई आर्थिक सहयोग स्वरुप ५ रुपैयाँको नोट पनि नगर प्रमुखलाई प्रदान गरेका हुन् । राजविराज नगर सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले जनप्रतिनिधि र कर्मचारीहरुलाई बालबालिकाप्रति कुनै चासो नरहेको आरोप लगाइन् । ‘नगरपालिकाका सूचना अधिकारी मनोजकुमार यादवलाई पटक–पटक राष्ट्रिय बाल दिवशमा कार्यक्रम समन्वय गराईदिन आग्रह गर्दा समेत वेवास्ता गरेकोले बाध्य भएर आन्दोलिन हुनुप¥यो’ उनले भनिन्–‘यसका साथै बाल अधिकारको क्षेत्रमा खर्च गर्न नगरपालिकासँग बजेट समेत नदेखिएकोले आफ्नो खाजा खर्च काटेर ५ रुपैयाँ आर्थिक सहयोग गरे ।’
बाल अधिकारको लागि राष्ट्रिय अभियान नेपालका सह–संयोजक सौरभ यादवले स्थानीय तहमा जनप्रनितिधि आएसँगै बालबालिकालाई हेला गर्ने प्रवृति बढेको गुनासो गरे । ‘उसो त सप्तरीका अधिकांश स्थानीय तहका जनप्रनितिधिको बालबालिकाहरुप्रतिको सोच फरक छैन्’ उनले भने–‘तर अन्य स्थानीय तहले चैं बाल दिवशको अवसरमा कार्यक्रम राखेपनि राजविराज नगरपालिकाले हेला नै गरेको छ ।’
उनले अझै जनप्रतिनिधि र कर्मचारीहरु सचेत नभए बाध्य भएर थप आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए । ज्ञापन पत्र वुझ्दै नगर प्रमुख यादवले राष्ट्रिय बाल दिवस कार्यक्रम गरी मनाउने आफु इच्छुक रहेपनि समन्वय अभावले कार्यक्रम गर्न नसकिएको बताए । ‘बाल सञ्जाल र क्लवका बालबालिकाहरु कार्यक्रम गर्ने विषय लिएर नगरपालिकाको कार्यालय आएको व्यहोरा आफुहरुलाई जानकारी नै भएन’ उनले थपे–‘सूचना अधिकारीसँग आवश्यक जानकारी लिन्छु ।’
जिल्ला बाल सञ्जाल, नगर स्तरिय बाल सञ्जाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपाल लगायत संस्थाको संयुक्त अगुवाईमा नगर प्रमुख शम्भु प्रसाद यादवलाई दिएको ज्ञापन पत्रमा सप्तरीमा डेंगु रोगको संक्रमण देखिएपनि नियन्त्रणमा नगरपालिकाले केहि पहल नै नरहेको उल्लेख छ ।