Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीमा चुनौती बन्दै लागुऔषध कारोबार

आर्थिक वर्ष २०७५/०७६ मा ८१ जना पक्राउ
सप्तरीमा चुनौती बन्दै लागुऔषध कारोबार
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ भदौ । नेपाल–भारत बीचको खुल्ला सिमानाका कारण सप्तरी जिल्लामा लागु औषध कारोबार घट्नुको साटो बढ्दै गएको छ ।

सिमा नाकाहरुमा प्रभावकारी चेक जाँचको अभावमा जिल्लामा लागु औषधको कारोबार बढ्दैगएको हो । हनुमाननगर, कुनौली, गोबिन्दपुर, बनैनियाँ, औरही, स्वर्णपट्टी कोदरकट्टी र मौवाहा बेल्ही नाका भएर लागु औषध सप्तरी जिल्ला भित्रिने गरेको छ । यतिमात्र होइन, सिरहा, सुनसरी, उदयपुर समेतका जिल्लाहरुबाट लागु औषध प्रयोगकर्ता तथा कारोबारमा संलग्नहरु यसै जिल्लालाई ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग गर्ने गरेको पाईएको छ ।

अन्य जिल्लाका नाकाहरुमा भन्दा सप्तरी जिल्लाभित्र पर्ने नाकाहरुमा अलि सहजता महशुष गर्दै कारोवारमा संलग्नहरुले लागु औषध भित्र्याएर कारोबार गर्ने गरेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार केही लागुऔषध तस्करहरुले विभिन्न तरिकाबाट लुकाई–छिपाई कारोबार गर्ने गरेका छन् भने कतिपय सेवनकर्ताहरु सिमा पारी गएर सेवन गरी फर्किने गरेका छन् ।

भारतीय सिमावर्ती बजारहरुबाट भित्र्याईएका लागु औषधहरु स्थानीय बजारहरुमा समेत लुकाई–छिपाई बिक्री हुने गरेको छ । यस्तै सेवनकर्ताहरुले राजविराजको रङ्गशाला, बालमन्दिर, मन्दिर तथा स्कूल, कलेजका मैदान एवम् आसपासका क्षेत्रलाई प्रयोग गर्ने गरेका छन् ।

हुनत लागु औषध न्युनिकरण गर्न सप्तरी प्रहरीले सिमामै रजिष्टरमा विवरण लेख्ने तथा जनचेतनामूलक कार्यक्रमहरु गरे पनि त्यसलाई निरन्तरता दिन नसकेको नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादव बताउँछन् । लागु औषधको कुलतमा खासगरी युवा जमात फँसेको भन्दै यस्तो अवस्थालाई सुधार्न नसकिए भावी सन्ततिको भविष्य बर्वाद हुने उनको भनाई छ । सिमामा कडाई गर्नुकासाथै कारोवार स्थललाई समेत टार्गेट गरी प्रहरीले ठोस कदम चाल्नुपर्ने उनको भनाई छ ।

यस्तो छ प्रहरीको तथ्याङ्क 

जिल्ला प्रहरी कार्यालय सप्तरीको तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने आर्थिक वर्ष २०७३/०७४ मा ५९ जना लागु औषध सम्वन्धी मुद्दामा पक्राउ परेका छन् भने ५ जना फरार रहेका छन् । यस्तै २०७४/०७५ मा ६२ जना पक्राउ परेका छन् भने ३ जना फरारको सूचीमा छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा ८१ जना पक्राउ परेका छन् । दुई जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क छ । पक्राउ परेकाहरुको साथबाट गाँजा, नाइट्रोसन, फेनारगन, कोरेक्स, लुपिजेसिक, डाइजिल्याब, नोरफिन, नाइट्राभेट, डाइलेक्स डि.सी. लगायतका लागु औषधहरु बरामद गरिएको छ ।

नयाँ एसपीको प्रतिवद्धता

जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रमुखको कमाण्ड सम्हाले लगत्तै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जिल्ला स्थित सबै पक्षसँग अन्तरक्रिया गर्नुकासाथै जिल्लाको वस्तुस्थिति अध्ययन गर्दै नयाँ रणनीतिका साथ अगाडि बढेका छन् । प्रहरी सक्रियता बढाउनुका साथै सिमानाकाहरुमा समेत कडाई गर्नुका साथै सुरक्षा जाँच, गस्ती टोली समेत परिचालन गरिएको छ ।

सप्तरी जिल्लामा लागुऔषध समेत चुनौतीको रुपमा रहेको तथा अधिकांश अपराधिक घटनाको कारण समेत लागु औषध नै रहेकोले आफु अत्यन्तै गम्भीरतापूर्वक लिएको प्रहरी उपरीक्षक प्रसाईं बताउँछन् । लागुऔषधको जस्तोसुकै जालोलाई भत्काएर जिल्लामा शान्ति, सुरक्षा र अमनचयनको अवस्था श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन् ‘हामीले गरेको मेहनतको परिणाम सप्तरीवासीले चाँडै महशुष गर्नेछन्, नेपाल सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न हामी कुनै कसर बाँकी राख्दैनौं ।’

Online Saptari

About The Author

%d bloggers like this: