• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा आत्महत्याको अवस्था भयावह!

विद्यानन्द राम
राजविराज, २४ भदौ । परिवारीक कलह, प्रेम तथा यौन सम्वन्ध, सामाजिक हेला, परीक्षामा असफलता, मानसिक तनाव, आर्थिक विपन्नता जस्तो कारणले सप्तरीमा आत्महत्याको घटनामा वृद्धि हुन थालेको छ ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले मङ्गलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार सप्तरीमा अत्महत्याको घटना वृद्धि भएको पाइएको हो ।
तथ्याङ्क अनुसार २०७५ साउनदेखि हालसम्म सप्तरीमा ७० जनाले आत्महत्या गरेको छ । आत्महत्या गर्नेमा महिलाको संख्या बढी रहेको पाइएको छ ।
सो अवधिमा ३६ जना महिला र ३४ जना पुरुषले परिवारीक कलह, प्रेम तथा यौन सम्वन्ध, सामाजिक हेला, परीक्षामा असफलता, मानसिक तनाव, आर्थिक विपन्नता जस्तो कारणले आत्महत्या गरेको देखिएको छ ।
सप्तरीमा आत्महत्याको घटना बढ्न थालेपछि रोकथामका लागि जिल्ला प्रहरी कार्यालयले सामूदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप जिल्लाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्य थालिएको एसपी कृष्ण प्रसाईंले बताए ।
‘सर्वसाधारण सबै तिरबाट निराश भएपछि आफ्नो जिन्दगीलाई बेकार सम्झेर आत्महत्या गर्न बाध्य हुन्छ, यो अवस्थामा सकारात्मक सोचको विकास गर्न आवश्यक छ’ एसपी प्रसाईंले भने–‘सर्वसाधारणलाई एकपटक पाउने जिन्दगीको महत्वको विषयमा सचेतना फैलाउन सवैको सहयोग आवश्यक छ ।’
आत्महत्या न्यून पार्न किटनाशक औषधि, मादकपदार्थ, लागु् औषधसहितमा निगरानी, मानसिक समस्याको उपचार, तालिम लगायत क्याम्पस र विद्यालयमा जनचेतना फैलाउने योजना रहेको एसपी प्रसाईंको भनाई छ ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समाजको विकास सँगसँगै मानिसको सोचाइ पनि ठूलो हुने र त्यस्ता ठूला सोचाइ र सपनाहरु सपनामै सीमित हुने भएकाले आत्महत्याका घटना बढ्ने गरेको बताए ।
उनले हत्महत्याको घटना जटिल समस्याको रुपमा देखा परेकोले यसलाई रोकथान गर्न सवै मिलेर लाग्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा प्रदेश २ का जेष्ठ नागरिक संघका अध्यक्ष शंकर शारदा, मनोेरोग परामर्श दाता मनिशा सिंखडा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी लगायतले समेत हत्महत्यालाई निरुत्साहित गर्न सवैको प्रयास आवश्यक रहेको औंल्याए ।