• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश सांसद कर्णद्वारा सामुदायिक विद्यालयमा टाइ–बेल्ट

बुवाको नाममा २५ हजारको अक्षय कोष स्थापना
प्रदेश सांसद कर्णद्वारा सामुदायिक विद्यालयमा टाइ–बेल्ट

कल्याणपुर, २२ भदौ । सामुदायिक विद्यालयका बालबालिकाहरुको मनोबल बढाउन तथा शिक्षामा सुधार ल्याउने उद्देश्यकासाथ सप्तरीका एक प्रदेश सभा सदस्यले आइतवार टाई–बेल्ट वितरण गरेको छ ।
प्रदेशसभा सदस्य रुवी कुमारी कर्णले आफू पढेको विद्यालयमा टाइ–बेल्ट वितरण गरेकी हुन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सांसद कर्णले आफ्नो तलबको पैसाबाट सामुदायिक विद्यालयका छात्र छात्राहरुलाई विद्यालयको नाम अंकित लोगोसहितको टाय–बेल्ट सहयोग गरेकी छिन् ।
सामुदायिक विद्यालयमा विद्यार्थीको पढाई स्तर खस्केको र आफु सानो हुँदा पढेको जन जागृति प्राथमिक विद्यालय मुसहर्निया विसनपुरमा शैक्षिक स्तर सुधारको लागि सानो सुरुवात गरेको उनले बताईन् । प्रदेश सभा सदस्य कर्णले आफू पढेको विगतको अवस्था भन्दा अहिलेको अवस्थामा बोडिङ्ग स्कुलको तुलनामा सामुदायिक विद्यालयको स्तर उकास्न र विद्यार्थीको मनोवल बढाउन यस्ता सामग्री आवश्यक रहेको टिप्पणी गरिन् ।
सांसद कर्णले देशको शिक्षा नीतिको बारेमा प्रकाश पार्दै विगतको शिक्षा प्रणाली र शिक्षामा लगानीको अवस्था बारेमा जानकारी गराउँदै अब स्थानीय सरकार प्रमुखको दायित्व रहेको समेत बताईन् । कर्णले आफ्नो गरिबीको अवस्थालाई स्मरण गर्दै उक्त अवसरमा आयोजित कार्यक्रममा अहिले आफ्नै जन्मभुमीको विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् । शिक्षा दिवसको अवसरमा टाइ–बेल्ट पाएका विद्यार्थीहरु खुशी भएका छन् ।
बाल विकास समेत सञ्चालनमा रहेको उक्त प्राथमिक विद्यालयमा कुल १ सय ५१ जना विद्यार्थीमा ६८ जना दलित बालबालिका अध्ययनरत छन् ।
खडक नगरपालिका ८ अन्रतगर पर्ने उक्त विद्यालयमा सबभन्दा राम्रो पढाई भईरहेको र यस विद्यालयलाई निम्न माध्यमिक विद्यालयको लागि पहल गरिदिन वडा अध्यक्ष मोहमद इसराईल मियाँले सांसद कर्णलाई आग्रह गरेका छन् । शिक्षा दिवसको अवसर पारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा आयोजित वितरण कार्यक्रममा खडक नगरपालिका वडा नम्वर ५ का अध्यक्ष विजय साह, नेकपाका नेताहरु प्रथमलाल राम, शत्रुघन प्रसाद साह (आजाद), जय प्रकाश चौधरी, अयुव राइन, विद्यालयका शिक्षक स्टाफसहित स्थानीयवासिन्दाको उपस्थिति थियो ।

२५ हजारको अक्षय कोष स्थापना

प्रदेशसभा सदस्य कर्णले शिक्षा दिवसको अवसर पारेर सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले आफ्नो बुवाको स्मृति दिवसको अवसरमा आइतवार २५ हजारको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका छन् ।
सांसद कर्णले अध्ययन गरेको आफ्नै गाउँको श्री जन जागृति प्राथमिक विद्यालय मुसहर्निया विसनपुरको विद्यालयमा प्रथम गर्ने एक छात्र र एक छात्रालाई अक्षयकोषको रकमबाट आउने व्याजबाट बुवाको स्मृति दिवसको अवसरमा छात्रवृति दिने घोषणा गरेकी हुन् । सांसद कर्णले आफ्नो बुवा समेत एक शिक्षक रहेकोले विद्यार्थीको मनोबल बढाउने दृष्टिकोणले यो अक्षय कोषको स्थापना गरेको जानकारी दिईन् ।
गाउँको बालबालिकाहरुलाई घरबाट ल्याई आफ्नो बुवाले पढाउने गरेको क्षण स्मरण गर्दै बुवाको व्यक्तित्व एवम् समाजमा पुर्याएको योगदानलाई जिवन्त राख्न पुरस्कार स्थापना गरेको बताइन् । भविष्यमा बुवाको नाममा ट्रष्टको स्थापना गरी यो अक्षय कोषलाई अझै फराकिलो बनाई खडक नगरपालिकाको अर्को विद्यालयमा समेत यस्तै छात्रबृतिको घोषणा गर्ने सांसद कर्णले प्रतिवद्धता व्यक्त गरिन् ।