• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मैथिली साहित्य परिषद्को निर्वाचन प्रक्रिया शुरु

मैथिली साहित्य परिषद्को निर्वाचन प्रक्रिया शुरु

राजविराज, २० भदौ । मैथिली साहित्य परिषद् राजविराजको आगामी कार्यकालकालागि कार्यसमिति चयन गर्न निर्वाचन समितिले शुक्रवारदेखि औपचारिक रुपमा प्रक्रिया शुरु गरेको छ ।
निर्वाचन समितिका संयोजक नथुनी दासले दिएको जानकारी अनुसार भदौ २० गते शुक्रवार मतदाता नामावली प्रकाशन गरिएको छ । कुल ७६७ मतदाता रहेको परिषद्का सदस्यहरुको नामावली परिषद्कै कार्यालयमा प्रकाशन गरी सूचना टाँस गरिएको छ ।
मतदाता नामावली एवम् नाम नामेशी संशोधन सहित दावी विरोधकालागि भदौ २२ गते २ बजेसम्मको समय तोकिएको सूचनामा उल्लेख छ । सो छानबिन पश्चात सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
समितिले प्रकाशन गरेको सूचना अनुसार उम्मेदवारहरुले नाम दर्ता भदौ २७ गते दिनको ११ बजेदेखि ३ बजेसम्म गर्न सक्नेछन् भने सो नामावली उपर दावी विरोध गर्न एक घण्टाको समय दिई उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन सोही दिन बेलुकी ६ बजे गरिने सूचनामा जनाईएको छ ।
निर्वाचन समितिका संयोजक दासले जनाए अनुसार भदौ २८ गते ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र उम्मेदवारी फिर्ता पछाडिको नामावली सोही दिन बेलुका ४ बजे प्रकाशन गरिने छ । मतदानको तिथि र मतदान केन्द्रको विषयमा भदौ २८ गते नै सार्वजनिक गरिने दासले बताए ।
परिषद्को साउन २५ गते सम्पन्न १६औं साधारणबाट सहमती नभए निर्वाचन गराउने भएको निर्णय अनुरुप सहमतीको प्रयास सफल नभएपछि निर्वाचन घोषणा गरिएको परिषद्ले जनाएको छ । उक्त साधारणसभाबाट निर्वाचन सम्पन्न गराउनु नथुनी दासको संयोजकत्वमा विवेकानन्द मिश्र र रामदेव यादव रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिलाई सहयोग गर्न परिषद्का पूर्व सचिव श्यामसुन्दर झालाई नियुक्त गरिएको संयोजक दासले जानकारी दिएका छन् ।
मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनकालागि नेपालमै अग्रणी संस्थाको रुपमा परिषद् २०२६ सालमा स्थापना भएको हो ।