• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

पर्यटन प्रवद्र्धन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छः अध्यक्ष प्रधान

पर्यटन प्रवद्र्धन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छः अध्यक्ष प्रधान

राजविराज, १९ भदौ । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले आउनै लागेको पर्यटन वर्षकालागि सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरे जिल्लामा पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् ।
राजविराजमा विहीबार आयोजित होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । सप्तरी जिल्लामा पर्यटनको पर्याप्त सम्भावना रहेको बताउँदै अध्यक्ष प्रधानले भने ‘पर्यटन वर्षकालागि सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरे जिल्लामा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।’
संघका अध्यक्ष प्रधानले पर्यटन वर्षमा जिल्लामा बढी भन्दा बढी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन आवश्यक तयारीमा जुट्नुपर्नेमा जोड दिए । पर्यटकहरुलाई लोभ्याउन धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय गन्तव्यहरुमा आकर्षण बढाउनुका साथै होटेलव्यवसायीहरु थप जिम्मेवार बन्नुपर्ने उनले आवश्यकता औंल्याए ।
कार्यक्रममा बोल्दै राजविराज नगरपालिकाका पूर्व मेयर समेत रहेका शैलेश चौधरीले हरेक दृष्टिकोणले अग्रणी रहेको यो जिल्लामा पर्यटन प्रवद्र्धनकालागि स्थानीय तहहरुले थप गृहकार्य गर्नुपर्नेमा जोड दिए । संघका प्रदेश सदस्य छोटेलाल चौधरीले पर्यटन वर्षको तयारीमा व्यवस्थित रुपमा जुट्न आग्रह गरे ।
यसैगरी होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीको प्रथम जिल्ला अधिवेशनबाट चौधरीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । संघको प्रथम उपाध्यक्षमा पुरूषोतम कोईराला, द्वितीय उपाध्यक्षमा उमेश प्रसाद साह, महासचिवमा निरज कुमार शाही, सचिव रमेशकुमार श्रेष्ठ, सह–सचिव उमेश साह र सदस्यहरू तीन जना चयन भएका छन् । बाँकी ६ जना पदाधिकारी र सदस्य होटल, रेस्टुरेन्ट र मिष्टान भण्डारहरूलाई सदस्यता पश्चात विस्तार गरिने अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
आगामी भदौ २१ गते बर्दिवासमा हुने प्रदेश अधिवेशनमा सहभागी हुन् ५जना प्रतिनिधिहरू शैलेश चौधरी, पुरूषोतम कोईराला, गणेश श्रेष्ठ, विजय साह र उमेश प्रसाद साह चयन भएका छन् ।