• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा

सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा

राजविराज, १२ भदौ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ललितपुर स्थित नख्खु कारागार प्रमुखमा सरुवा भएको छ ।
गृह मन्त्रालयले विहीबार गरेको निर्णय अनुसार उनको सरुवा भएको हो । गत वर्ष जेठको अन्तिम सातातिर सरुवा भएर सप्तरी आएका उनले सप्तरीको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका थिए । उनको स्थानमा कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सुनिल खनाल आउने भएका छन् । खनाल कारागार व्यवस्थापन विभाग काठमाण्डौबाट सरुवा भएर सप्तरी आउन लागेका हुन् ।
करिब १५ महिना सप्तरी बसेका उनी लामो समयसम्म बस्ने प्रमुख जिल्ला अधिकारी हुन् । यस अघि जिल्लामा तीन महिना, ६ महिना वा बढीमा केहीले मात्र एकवर्ष कटाएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।
सप्तरी आएदेखि उनी जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा दण्डहिनता अन्त्य गर्न सक्रिय भएर काम गर्दैआएका थिए । ‘न्यूज टुडे’सँगको संक्षिप्त कुराकानीमा प्रमुख जिल्ला अधिकारी पौडेलले सप्तरी बसाइ सफल र सुखद् रहेको बताए । आफुले सबैपक्षको सकारात्मक सहयोग पाएको चर्चा गर्दै उनले भने ‘सप्तरीबाट सरुवा हुनु आश्चर्य मान्ने कुरा होइन, मैले १५ महिनासम्म यस्तो राम्रो वातावरणमा काम गर्नु नै खुशीको कुरा हो, नेपाल सरकारले खटाएको ठाउँमा जिम्मेवार भएर काम गर्नेछु ।’
सिमाक्षेत्रमा सम्भावित अपराध, चोरी तस्करी, अबैध कारोबार नियन्त्रण तथा शान्ति सुरक्षा, सुशासन कायम एवम् सामाजिक गतिविधीहरुमा सक्रिय भएर काम गर्ने प्रतिवद्ध गरे अनुसार नै आफुले काम गर्ने भरमग्दूर प्रयास गरेको उनले बताए । चाहेर पनि आफुले गर्न बाँकी रहेको कतिपय कार्यहरु अब आउने प्रमुख जिल्ला अधिकारीले पुरा गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले विश्वास व्यक्त गरे । आफ्नो सप्तरी बसाई अविस्मरणीय रहेको भन्दै जहाँ बसे पनि सम्झिरहने तथा विकास निर्माण एवम् उन्नती प्रगतिमा फड्को मार्नेमा आफु आशावादी रहेको उनले बताए ।