• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सामाजिक मुद्दाहरुमा सहकार्य गर्न तयार छौंः अध्यक्ष यादव

सामाजिक मुद्दाहरुमा सहकार्य गर्न तयार छौंः अध्यक्ष यादव

राजविराज, ६ भदौं । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले अपन एफ.एमका कार्यक्रमहरु प्रशंसनीय रहेको भन्दै अगामी दिनमा सामाजिक मुद्दाहरुमा गाउँपालिका सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
अपन एफ.एम.को १० औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगत एक दशकदेखि सप्तरीसहित आफ्नो प्रशारण क्षेत्रमा शिक्षा, सूचना, मनोरञ्जन लगायतका कार्यक्रमको माध्यमबाट जनचेतना फैलाउँदै समुदायमा गहिरो छाप छोड्न सफल रेडियोको रुपमा स्थापित अपन एफ.एमले शुक्रवार आफ्नो १० औं वार्षिक उत्सव मनाएको छ ।
केक काटेर कार्यक्रम उद्घाटन गरेका यादवले अहिलेको डिजिटल युगमा पत्रकारहरुले सजग भएर कलम चलाउनुपर्ने सुझाव दिए । कार्यक्रमका विशिष्ठ अतिथि गैर सरकारी संस्था महासंघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ध्रुव देवले अपन एफ.एमले सप्तरीमा आफ्नो अलगधार बनाएर सामाजिक बेथितीहरु विरुद्धको अभियानमा लागेको भन्दै थप प्रगतिकालागि शुभकामना दिए ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले रेडियोले आगामी दिनहरुमा अझ उन्नती प्रगति गरोस भन्ने शुभकामना दिए । नेपाली काग्रेस सप्तरीका सभापति दिनेश यादवले रेडियो अपनले समाजका हरेक व्यतिले अपनत्व हुने खालको कार्यक्रम ल्याउन सुझाव दिए ।
गैर सरकारी संस्था महासंघका सप्तरी अध्यक्ष शम्भुनन्दन चौधरीले युवा नेतृत्वद्धारा सञ्चालित यस एफ.एमले प्रगति रफतारमा रहेको बताए । एफ.एमका अध्यक्ष नविन नरसिंह नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादी पार्टीका सप्तरी अध्यक्ष केदार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय बस्नेत, नेकपाका प्रदेश नम्वर २ का सदस्य छेदी रजक, ईन्सेकका सप्तरी प्रतिनिधि मनोहर पोखरेल, राससकी पुनम पोखरेल, नेपाली सेना भलुवाही ब्यारेक राजविराजका प्रतिनिध दिलिप चौधरी, पतञ्जली योग समितिका महामन्त्री किसुनदेव यादव, संजिव यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
१०औं वार्षिक उत्सवका अवसरमा एफ.एम.मा कार्यरत कार्यक्रम सञ्चालक शैलेश श्रीवास्तव, सबिता कुमारी दास, रञ्जना साह, जुसी चौधरी, संजिव यादव, सबिता कर्ण, प्राविधिक रुपले सहयोग गर्ने प्रेम कुमार झा लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको छ । यसैगरी वार्षिक विज्ञापनदाताहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको छ ।
एफ.एमले अहिले मैथिली, नेपाली गरी स्थानीय स्तरमा ९ वटा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस अतिरिक्त सामुदायिक सूचना नेटर्वकबाट प्रशारित साँझ र बिहानको साझा खबर प्रशारण गर्दै आएको छ । त्यस्तै बिहान बिबिसी हिन्दी सेवा र राति बिबिसी नेपाली सेवा प्रशारण गर्दै आएको अध्यक्ष नेपालीले जानकारी दिए । कर्मचारी तथा पत्रकारलाई १ लाखको दुर्घटना बिमा समेत गरिने योजना रहेको उनले जानकारी दिए । आंशिक, करार र स्टिंन्जर गरी यस एफ.एम.मा दश जना कर्मचारी कार्यरत रहेको जानकारी दिईएको छ ।