• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

विरुवा रोपेर जन्मदिन मनाईन् नायिका डोली सरकार

विरुवा रोपेर जन्मदिन मनाईन् नायिका डोली सरकार

राजविराज, ५ भदौ । नेपाली, मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारले यसवर्ष समेत आफ्नो जन्मदिन पृथक शैलीबाट मनाएकी छिन् ।
राजविराज नगरपालिका वडा नम्वर–४ स्थित निम्न माध्यमिक विद्यालय केन्द्र नम्वर–६ पुगेर उनले बृक्षारोपण गर्दै जन्मदिन मनाएकी हुन् । सामान्य रुपमा सबैले केक काटेर भोजभत्तेर गरी जन्मदिन मनाउने गरिँदैआएकोमा उनले विगत ६ वर्षदेखि पृथक शैलीबाट जन्मदिन मनाउँदैआएकी छिन् ।
यसअघिका वर्षहरुमा उनले राजविराज स्थित बालकल्याण गृहमा पुगेर खेलकुद तथा शैक्षिक सामग्री वितरण गर्दै सामुहिक रुपमा बालबालिकाहरुसँग जन्मदिन मनाउँदै आएकी थिईन् । यद्यपी संघीय शासन व्यवस्थासँगै बालकल्याण गृह हटाईएपछि नायिका डोली गत वर्ष राजगढ गाउँपालिका स्थित मलेकपुरको डोम बस्तीका बालबालिकासँग जन्मदिन मनाएकी थिइन् ।
बढ्दो वनजङ्गल फडानी, जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै उनले यसवर्ष वृक्षारोपण गरेकी छिन् । विद्यालयका बालबालिकाहरु समेतलाई सहभागी गराई विभिन्न प्रजातिका विरुवा तथा फुल समेत रोपेकी छिन् । जन्मदिनको अवसरमा विद्यालयका बालबालिकाहरुलाई चकलेट बाँड्दै आ–आफ्नो जन्मदिनमा अनिवार्य रुपमा बिरुवा रोप्न आग्रह गरिन् । विद्यार्थीहरुलाई जलवायु परिवर्तन, रुख विरुवाको महत्व, वातावरण संरक्षण सहितका विषयमा उनले जानकारी गराईन् ।
वर्तमान अवस्थामा वन जङ्गल फडानी व्यापक रुपमा भईरहेकोले यसलाई अविलम्व रोक्नुपर्नेमा जोड दिईन् । चुरे विनासप्रति चिन्ता व्यक्त नायिका सरकारले भनिन् ‘यदी वनजङ्गल संकटमा प¥यो भने हाम्रो जिवन पनि खतरामा पर्ने भएकोले यसप्रति सबैको ध्यान केन्द्रित हुनु आवश्यक छ ।’
प्रत्येक व्यक्तिले विरुवा रोपेर छोराछोरी जस्तै जतन गरेर हुर्काउनुपर्नेमा जोड दिँदै जनप्रतिनिधीहरुले बृक्षारोपण कार्यलाई योजनामै राखेर अगाडि बढाउनुपर्नेमा नायिका डोलीले जोड दिईन् । २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेशको अवसरमा उनले आगामी दिनहरुमा समेत आफुले यस्ता गतिविधीहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक शंकर कुमार यादवले नायिका डोलीले आफै प्रारम्भिक चरणको शिक्षा हासिल गरेको विद्यालयमा आएर बृक्षारोपण गर्नु विद्यालयकोलागि खुशीको कुरा भएको बताए । आगामी दिनमा यस्ता सामाजिक कार्यहरुलाई जारी राख्न आग्रह गर्दै उनले विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको तर्फबाट धन्यवाद दिए ।
प्रवेश गरेको अवसरमा उनले डोम बालबालिकालाई कापी, कलम, चाउचाउ लगायतका सामग्रीहरु उपलब्ध गराएकी छिन् । बालबालिकाहरुलाई नियमित स्कूल पठाउन त्यहाँका अभिभावकहरुसँग नायिका डोलीले आग्रह गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार विद्यानन्द राम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, कर्मचारी समेतले उक्त कार्यको प्रशंसा गर्दै शुभकामना दिएका छन् ।
नायिका डोलीले दाईजो एवम् महिला हिंसामा आधारित नेपाली फिल्म ‘भोर’ लगायत दर्जनौं हिन्दी, मैथिली, भोजपुरी, थारु लगायतका भाषाहरुमा निर्मित फिल्म तथा म्युजिक भिडियोहरुमा अभिनय गरेकी छिन् ।