राजविराज, ०३ भदौ । कोशी नदी कटान डुवान संघर्ष समिती सुनसरी, सप्तरी र उदयपुरले सप्तकोशी ब्यारेज स्थित थालेको अनिश्चितकालिन रिले अनसन मङ्गलवार पनि जारी रहेको छ । समितीले तीन बुँदे मागसहित गत शनिवार देखि अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन् ।
कोशी नदीले क्षति गरेको बालीको क्षर्तिपूति हुनुपर्ने, दुवै तटबन्धभित्रको जग्गा सुरक्षित हुनुपर्ने र सन् १९५४ मा भएको कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरुको छ । तीन बुँदे माग सम्वोधन नभएसम्म रिले अनसन जारी राख्ने संघर्ष समितीले अडान लिएका छन ।
समितीका संयोजक महिदेव चौधरीले मुआब्जा उपलब्ध गराउन पटक पटक आश्वासन पाएपनि सात दशक वित्नै लाग्दा समेत मुआब्जा नपाएपछि आन्दोलनको विकल्प नरहेको बताए । ‘जग्गा सम्वन्धमा सन् १९६१ देखि १९७१ सम्मको कटान फारम मालपोत कार्यालय सप्तरीबाट सम्पर्क तथा भु–आर्जन कार्यालय, विराटनगर कोशी योजनालाई विवरण पनि पठाइसकेको छ’ उनले भने–‘तर, कोशीले कटान तथा डुवान भएका ५६ हजार ३ सय ५१ विघा ११ कठ्ठा १९ धुर जग्गाको हालसम्म मुआब्जा पाएको छैन् ।’
उनले यस पटकको आन्दोलन अन्तिम आन्दोलन हुने चेतावनी समेत दिए । ‘अब त मर्ने बेला पनि भयो’ उनले भने–‘अन्तिम साससम्म पनि आन्दोलन गरेर आर कि पार गर्ने अठोट लिएको छु ।’
२०११ साल वैशाख १२ गते नेपाल र भारती सरकारबीच भएको कोशी सम्झौता अनुसार कोशीले कटान र डुवान भएका जग्गाको मुआब्जा भारत पक्षले दिनुपर्नेछ । तर, सम्झौता कार्यान्वयन गर्ने/गराउनेतर्फ दुवै देशका सम्वद्ध निकायको मौनताले कोशी पीडितहरु आन्दोलित भएका हुन् ।