Top_Header_Right_Add

भेटेनरी साइन्सका विद्यार्थीद्वारा प्रअको कक्षमा ताला

‘कुनै वेला वर्तमान उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र डा.सीके राउत सर पनि यसै विद्यालयबाट अध्ययन गरी यहाँसम्म पुग्नुभयो, तर आफुहरुलाई भने वैदेशिक रोजगारमा पठाउने बाहेकको विकल्प रहन दिदैनन् जस्तो छ ।’
भेटेनरी साइन्सका विद्यार्थीद्वारा प्रअको कक्षमा ताला

राजविराज, ०३ भदौ । सप्तरीको एक मात्र सरकारीस्तरमा प्राविधिक शिक्षातर्फ भेटेनरी साइन्स कक्षा सञ्चालन भईरहेको विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले मङ्गलवार प्रधानाध्यापकको कक्षमा ताला लगाएका छन् ।
कक्षा नियमित हुनुपर्ने तथा प्रयोगशाला सञ्चालन गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित लक्ष्मी बल्भ नर्सिङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ताला लगाएका हुन् । विद्यालय व्यवस्थापन समिती विहिन रहेको विद्यालयमा प्रधानाध्यापकको गैरजिम्मेवारीका कारण विगत ५ महिनादेखि पठनपाठन प्रभावित हुँदै आएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
‘नियमिक कक्षा सञ्चालन गर्न पटक पटक प्रधानाध्यापक तथा जनप्रतिनिधिलाई आग्रह गर्दा समेत वास्ता नगरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको छ’ कक्षा १० मा अध्ययरत नितेशकुमार यादवले भने–‘यसअघि समस्या समाधान गरी आफुहरुको पठनपाठन सहज गर्न दुई पटकसम्म विद्यालयमा समेत तालाबन्दी गरेकै हो, पछि जनप्रतिनिधि र प्रधानाध्यापकले पहल गर्ने प्रतिवद्धता जनाएपछि ताला खोले ।’
तर समस्या भने ज्यूँका त्यूँ छ, उनले भने । यस पटक समाधान नभएसम्म ताला नखोल्ने आफुहरुले अडान लिएको उनले बताए । ‘घण्टी लिजर नभएको कुनै दिन छैन्, त्यसमाथि प्रयोगशाला पनि छैन्’ कक्षा १० कै श्रवणकुमार यादवले भने–‘केही रुपमा पठनपाठन भएका कुराहरु पनि प्रयोग गर्न सकेको छैन् ।’
उनले प्रधानाध्यापकको कमजोरीका कारण आफुहरुले भेटेनरी शिक्षा पढेर केहि गर्न सक्ने अवस्थामा नरहेको दुखेसो गरे । ‘जिल्लाकै नमूना मध्येको विद्यालय हो रे, तर व्यवस्थित र व्यवस्थापन गर्न नसक्दा कहाली लाग्दो अवस्थामा पुगेको छ’ उनले थपे–‘कुनै वेला वर्तमान उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र डा.सीके राउतले पनि यसै विद्यालयबाट अध्ययन गरी यहाँसम्म पुग्नुभयो, तर आफुहरुलाई भने वैदेशिक रोजगारमा पठाउने बोहकको विकल्प रहन दिदैनन् जस्तो छ ।’
उनले विद्यालयको अवस्था सुधार गर्नेतर्फ गम्भिरता देखाउन सम्वन्धित सवै पक्षलाई आग्रह समेत गरे । यता, विद्यालयका प्रधानाध्यापक विपिनकुमार झाले दरबन्दीअनुसारको शिक्षक नहुँदा पठनपाठन प्रभावित भईरहेको बताए । ‘विस्तारै विस्तारै विद्यालयको अवस्था सुधार हुन्छ’ उनले भने–‘जसकालागि स्थानीय तहसँग समन्वय गर्ने कार्य भईरहेको छ ।’
२०७३ सालमा भेटेनरी कक्षा सञ्चालनमा आएको सो विद्यालयमा भेटेनरीतर्फ ६७ र अन्यतर्फ १ हजार ५ सय २ गरी कुल १ हजार ५ सय ६९ जना विद्यार्थी अध्ययनरत छन् ।

About The Author