Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

लोकस्टारमा सहभागी गायिका सुषमालाई जन्मथलोमा स्वागत

लोकस्टारमा सहभागी गायिका सुषमालाई जन्मथलोमा स्वागत
Bwtech New Add With Software & Bull SMS

राजविराज, २ भदौ । एपीवान टेलिभिजनबाट प्रसारण भईरहेको सिङ्गगिङ्ग रियालिटी शो ‘नेपाल लोकस्टार’की सहभागी सप्तरीकी सुषमा कुमारी झालाई सोमवार राजविराजमा स्वागत गरिएको छ ।
राजविराज नगरपालिका वडा नम्वर–५ निवासी सुषमा नेपाल लोकस्टारमा १४औं स्थानसम्म पुगेर भोटिङ्गका कारण उनी प्रतियोगिताबाट बाहिरिएकी थिईन् । दमदार प्रस्तुतिका साथ गन्तव्यतर्फ लम्किएकी उनी प्रतियोगिताबाट बाहिरिएपछि सोमवार जन्मथलो राजविराज आईपुगेकी छिन् ।
विमानस्थलमा गायिका झालाई स्वागत गर्न मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव, वडा नम्वर–५ का वडा सदस्य पार्थो सरकार, प्रसिद्ध तबलावादक कुमार बब्लु, हारमोनियमवादक सत्यनारायण यादव, भजन मण्डल लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले स्वागत गरेका छन् । गायन क्षेत्रमा अगाडि बढ्दै गरेकी सुषमालाई स्वागत गर्न उनका आमा, बुवा, दाजु लगायतका परिवारका सदस्यहरुले स्वागत गर्दै बधाइ दिएका छन् ।
विमानबाट ओर्लिए लगत्तै परिवारजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्वागत गर्न बसेको देख्दा उनको अनुहार खुशीसँगै उदासीको भाव झल्किरहेको थियो । आफन्तलाई भेटेर उनका आँखा टिलपिलाउनै लागे आफुलाई सम्हालिरहेको प्रष्ट देखिन्थ्यो ।
‘न्यूज टुडे’सँग संक्षिप्त कुराकानी गर्दै लोकस्टरमा आफुले भरमग्दूर प्रयास गरे पनि भोटिङ्गकै अभावमा बाहिरिनु परेकोमा दुःख लागेको उनले बताईन् । आफु मैथिलीभाषी भए पनि तयारी गरेर नेपाली लोकगीत गाउँदा निक्कै प्रोत्साहन पाएको बताउँदै उनले भनिन् ‘मिथिला–मधेशका छोरीहरु त्यसै कलाक्षेत्रमा प्रतिभा भएर पनि पछाडि छन्, उनीहरुलाई थप प्रोत्साहनको आवश्यकता छ ।’
आफु मैथिली संस्कारमा हुर्केको तथा बुवाबाट समेत मैथिली गीतहरु सिकेकोले नेपाली लोकगीत गाउँदा शुरुमा अलि कठिनाई भएको उनले अनुभव सुनाईन् । पछिल्ला इपिसोडहरुमा मिथिला–मधेशबाट रबि राज र आफुमात्र रहेको सम्झिदै उनले भनिन् ‘नेपाल लोकस्टार स्टारका इपिसोडहरुमा नेपाली गीत गाउनुपर्ने बाध्यता थियो, मलाई लाग्छ, मैथिली लोकगीतलाई नै अन्त्यसम्म मान्यता दिएको भएर मैथिलीभाषी पनि नेपाल लोकस्टारको विजेता बन्ने निश्चित थियो ।’
लोकस्टारमा एउटा मोबाइल नम्वरबाट एउटा मात्र भोटिङ्ग राख्नुपर्नेमा एउटै मोबाइलबाट सय ओटासम्म भोटिङ्ग गर्न पाउनुले कताकता अलि प्रतिभाको पहिचानमा समस्या भएको गायिका सुषमाले बताईन् । मिथिला–मधेशका वासिन्दाहरुको पहुँचमा टेलिभिजन नहुनु तथा प्रचार–प्रसारको अभावले पनि कम भोट आएको उनले बताईन् ।
पहिला आफु राजविराज तथा आसपासमै सिमित रहेकोमा लोकस्टारमा सहभागी भएपछि देश दुनियाँले चिनेकोमा आफुलाई खुशी लागेको बताउँदै उनले भनिन् ‘जिल्लामा सिक्ने राम्रो ठाउँ समेत छैन, स्थानीय तथा प्रदेश सरकारले समेत ध्यान दिनुपर्नेमा हालसम्म यो क्षेत्रमा खासै केही गरेको छैन, यद्यपी म अझ मेहनत गरेर भविष्यमा सफल गायिका बनेर देशमा आवाजले नै चिनाउनेछु ।’
निर्णाकहरु तथा प्रतियोगी साथीहरुबाट छुट्टिनु पर्दाको क्षण अत्यन्त पीडादायी रहेको स्मरण गर्दै उनले सबैजना रोएर विदाई गरेको बताइन् । मिथिलामा छोरीलाई विदाई गरे झैं कोसेलीहरु दिएर आफुलाई विदाई गरेको बताउँदै उनले भनिन् ‘हामी त त्यहाँ परिवार जस्तै भईसकेका थियौ, आउन मनै मानिरहेको थिएन तर के गर्नु, भोटिङ्गले साथ दिएन ।’
को हुन् सुषमा ?
चार वर्षकै उमेरदेखि गायन क्षेत्रमा प्रवेश गरेकी उनी कुल १ सय ९ प्रतियोगीहरु रहेकोमा हाल टप १६ मा पर्न सफल भएका छिन् । अरबिन्द झा तथा गायत्री मिश्रकी सुपुत्री सुषमा बुवाबाटै सङ्गीत प्रारम्भिक ज्ञान हासिल गरेकी छिन् ।
आफ्नै कडा मेहनतबाट गायन क्षेत्रमा जम्दैआएकी उनी मैथिली साहित्य परिषद्, मिथिला साहित्य कला प्रतिष्ठान लगायत स्थानीय स्तरमा आयोजित कार्यक्रमहरुबाट चर्चामा आएकी हुन् । सुमधुर स्वरकी धनी सुषमाले नेपाल तथा भारतमा आयोजित दर्जनौं ठूला कार्यक्रमहरुमा आवाजको जादु पस्केर दर्शकहरुको मन जित्न सफल भएकी छिन् ।
राजविराज स्थित पाराडाइज कलेजमा विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत सुषमा सानैदेखि गायिका बन्ने संकल्पका साथ साधनारत रहँदैजाँदा उनले नेपाली लोक स्टारमा फारम भरेर पहिलो पटक जनकपुरमा आयोजित अडिसनमा सहभागी भएकी थिईन् । कोकिलकण्ठी आवाजमा उनले गाएको मैथिली गीत ‘उगना रे मोर कतए गेलाह’ गीतले निर्णायकहरुको मन जित्दै लोकस्टारकालागि छनौट भईन् ।
मिथिला–मधेशको माटोमा हुर्किएकी उनी नेपाल लोक स्टारमा हालसम्म दुई ओटा मैथिली र दुई ओटा नेपाली गीत गाएकी छिन् । उगना रे मोर कतए गेलाह…, चानन भेल विषम रे…, साउने खोला, गलबन्दी, लगायतका गीत गाएकी छिन् । हालसम्मकै प्रस्तुतिहरुमा उनले रबिराज साहसँग गाएको ‘गलबन्दी’ले यतिबेला दर्शकहरुमाझ निक्कै चर्चा पाएको थियो । मैथिली मातृभाषी सुषमाले गाएको नेपाली गीतबाट दर्शकहरु मात्र नभई निर्णायकहरु समेत खुलेर प्रशंसा गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: