राजविराज, १ भदौ । वर्षेनीको बाढीले सप्तरीको रुपनी गाउँपालिकाका ३ सय घरधुरीले खेप्दै आएको जनधनको क्षतिबाट जोगाउन खाँडो नदीमा तटबन्ध निर्माण गरिएको छ ।
राष्ट्रपति चुरे खाँडो खोला नियन्त्रण आयोजनाले रकम उपलब्ध गराएपछि गाउँपालिकाले नदीमा तटबन्ध निर्माण कार्य गराएको हो । निर्माणस्थलमै आइतावर पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष हरेराम यादवले नदीमा तटबन्ध निर्माण र स्तरीयकरणबारे जानकारी गराए । ‘नदीको बाढीले प्रतिवर्ष नदी आसपासका ३ सय घरपरिवारलाई उठिवाससम्मको समस्या खेप्नुप¥यो’ उनले भने–‘ती समस्या समाधानतर्फ प्रयास थालेसँगै आयोजनाबाट उपलब्ध भएको रकमले तटबन्ध निर्माण सम्पन्न भयो ।’
उनले जनधन सुरक्षित गर्न गत जेष्ठ ५ गते रकम प्राप्त भएसँगै कार्य थालिएको तथा तटबन्ध कार्य गर्ने क्रममा अनेको अनेक समस्या झेलेर निर्मार्ण कार्य सम्पन्न गरेको बताए । ‘तटबन्ध निर्माण तथा स्तरीयकरणलागि ५ वटा प्याकेज बनाएर अघि बढे’ अध्यक्ष यादवले भने–‘तत्काल बनाउनुपर्ने आवश्यक रहेकोले उपभोक्ता समितिलाई लगाएर दिनरात एक गरी सवैको सहयोगले तटबन्ध निर्माण तथा स्तरीयकरण गर्न सफल भए ।’
कुल ४ करोड ४४ लाख १९ हजार २ सय १० रुपैयाँको लागतमा पाँच वटा प्याकेजमा तटबन्ध निर्माण कार्य गरिएको अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जानकारी दिए । जसअनुसार ८९ लाख ११ हजार ५ सय ८४ रुपैयाँमा पहिलो, ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमा दोश्रो, ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमै तेश्रो प्याकेजको निर्माण सकिएको छ ।
यसैगरी ८८ लाख ८२ हजार ५ सय २० रुपैयाँमै चौथो र ८८ लाख ६० हजार ६६ रुपैयाँमा पाँचौ प्याकेजमा निर्माण कार्य सम्पन्न भएको छ । सोहि पत्रकार सम्मेलनमा वडा नम्वर १ स्थित रहेको ठाकोदेवी जोगेन्द्र भगत पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ट्रमा सेन्टर) मा भवन निर्माण, सोहि वडामा सामूदायिक भवन र वडा नम्वर ६ मा बर्थिङ्ग सेन्टर निर्माण भएको जनाएको छ ।
प्रदेश २ सरकारको सामाजिक मन्त्रालयबाट प्राप्त भएको १ करोड रुपैयाबाट दुई वटै भवन र बर्थिङ्ग सेन्टर निर्माण गरिएको छ । निर्माण कार्यको आइतवारै एक टोलीले स्थलगत अवलोकन समेत गरेका छन् । टोलीमा जिल्ला समन्वय समितीका संयोजक प्रभाकरण यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी मनोज कुमार यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रदेश सचिव रामनारायण विश्वास, जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, एभी न्युजका सम्वाददाता वैद्यनाथ यादव लगायतको सहभागीता थियो ।