• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अझैं सुरु भएन हुलाकी राजमार्ग निर्माण

राजविराज, २६ साउन । स्थानीयहरुको अवरोधका कारण बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको तीन स्थानमा अझैसम्म सडक निर्माण कार्य सुरु हुन सकेको छैन ।
तराई मधेशको लाइफलाइन मानिएको सडक निर्माण कार्यमा स्थानीयहरुको अवरोधले राजविराज र बोदे वरसाइन बजार तथा कुशमाहारमा निर्माण कार्य सुरु हुन सकेको छैन । सप्तरीमा दुई अर्ब रुपैयाँको लागतमा दुईवटा योजनामा ४० किलोमिटरको सडक निर्माण कार्य भईरहेको छ । जसमा राजविराजदेखि पूर्व कञ्चनपुरसम्मको सडकखण्ड ब्रजगुरु कन्स्ट्रक्सन तथा राजविराजदेखि पश्चिम बलान नदीसम्मको सडकखण्ड रौताहा श्रेष्ठ दिवा जेभीले अढाई वर्ष (२०७४ पुस १४ देखि २०७७ असार २८) भित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको छ । तर, दुई वर्ष बित्न लाग्न पनि जेभीले सडक खण्डको तीन स्थानमा निर्माण कार्य सुरु गर्न सकेको छैन ।
‘स्थानीयहरुले नै अवरोध गरेपछि ती स्थानमा निर्माण कार्य सुरु हुन सकेन’ कम्पनीका कन्ट्याक्ट म्यानेजर मुकुन्द दाहालले भने–‘समस्या समाधानकालागि स्थानीय सरकारदेखि विभागमा पनि पटक पटक आग्रह गर्दा पनि हालसम्म पहल हुन सकेको छैन् ।’ अवरोध कायमै रहँदा सडक निर्माण कार्य ढिलाई भईरहेको कन्ट्याक्ट म्यानेजर दाहालले बताए ।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले हुलाकी मार्ग मधेशको मुटु नै रहेकोले राजविराज बजारहुँदै सडक बन्ने कुरामा दुईमत नरहेको बताए । ‘कञ्चनपुर सडकदेखि हनुमान मन्दिरसम्मका सर्वसाधारणले सडक निर्माण गर्न लिखित नै दिइसकेका छन्, हनुमान मन्दिरदेखि राम मन्दिरसम्म पहिलेदेखि मापदण्ड अनुसारकै फराकिलो सडक छ’ उनले भने–‘राम मन्दिरदेखि दास पेट्रोल पम्पसम्म केही संरचना हटाउनुपर्ने भएकोले केही सर्वसाधारण असन्तुष्ट देखिएको छ ।’
ती सर्वसाधारणलाई समेत सराकात्मक पार्ने पहल भईरहेकोले केही समयभित्रै राजविराजमा पनि सडक निर्माण कार्य सुरु हुने मेयर यादवले न्यूज टुडेलाई प्रतिक्रिया दिए । बोदे वरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले बोदे वरसाइन बजार र कुशमाहारमा सडक निर्माण कार्य अघि बढाउन स्थानीयहरुसँग समन्वय भईरहेको बताए । ‘सडक निर्माण गर्न बजार र कुशमाहारमा रहेको केहि संरचनाहरु हटाउनुपर्ने भएकाले समन्वय गर्न केही समय लाग्यो’ उनले भने–‘तथापी, स्थानीयहरु सकारात्मक रहेकाले छिट्टै समस्या समाधान हुन्छ ।’
राजविराजदेखि बलान नदीसम्म २६ दशमलव ५ किलोमिटरको सडकखण्ड एक अर्ब २० करोड रुपैयाँमा सम्झौता भएर हालसम्म ४१ प्रतिशत भौतिक कार्य सम्पन्न भएको कन्ट्याक्ट म्यानेजर दाहालले बताए । उनका अनुसार हुलाकी राजमार्ग अन्तर्गत सडकको मध्य प्वाईन्टबाट दुवैतर्फ १५÷१५ मिटर जग्गा अधिग्रहण गरी दुवैतर्फ साढे पाँच मिटर गरी कुल ११ मिटरको टु–लेन सडक निर्माण हुनेछ ।