• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बलान विहुल गापाको अनियमितताबारे संसदमा चर्चा

बलान विहुल गापाको अनियमितताबारे संसदमा चर्चा

राजविराज, २४ साउन । सप्तरीको बलान विहुल गाउँपालिकामा भएको बजेट अनियमितताको विषयले संसदमा चर्चा पाएको छ ।
प्रतिनिधिसभाको बिहिवार बसेको वैठकमा ३ मिनेटको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका सांसद तेजुलाल चौधरीले देशमा व्यापक भ्रष्टाचार बढेको भन्दै सरकार र सम्वन्धित कार्यालयले छानवीन गर्नुपर्ने माग गरेका छन् । ‘सरकारले सुशासन र समृद्धिको नारा लिएर अघि बढेको छ, तर देशमा भ्रष्टाचार झन बृद्धि भइरहँदा पनि सरकार र सम्बन्धित कार्यालय मौन छन्’ उनले भने–‘वाइडबडि काण्ड के भयो ?, सुनकाण्ड कहाँ पुग्यो ?, एनसेल काण्ड कहाँ पुग्यो र बालुवाटार जग्गा के भईरहेको छ ?’
संसदमा प्रश्न गर्दै सप्तरी क्षेत्र नम्वर ४ का सांसद चौधरीले थपे– ‘सप्तरीको बलान विहुल गाउँपालिका भ्रष्टाचारको अखडा बनेको छ, आर्थिक वर्ष ०७४÷०७५ मा सम्पन्न विकासीय योजनाहरुमा कामै नगरी बजेट झ्वाम्म पारेको छ ।’ उनले भ्रष्टाचार बारे विभिन्न पत्र–पत्रिकामा आईसक्दा पनि सरकार र सम्वन्धित कार्यालयले कारवाही नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘भ्रष्टाचार नम्वर १, वडा नम्वर १ स्थित थलहादेखि मुनिलालको घरसम्म माटो ग्राभेलको कामै नगरी ९ लाख रकम निकासा, वडा नम्वर ५ कुसुमको घरदेखि डिहवारको थान, मेन रोड हुँदै दिनाभद्रीसम्म सडक ढलानको कामै नगरी १७ लाख, वडा नम्वर ३ स्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा बाउण्ड्री वाल निर्माण नै नगरी ५ लाख झ्याम, पटेर्वादेखि विभिन्न ठाउँमा माटो ग्राभेल लगायतका योजनामा पनि कामै नगरी रकम निकासा गरेर भ्रष्टाचार गरेको छ’ उनले भने–‘तै पनि सरकार र सम्वन्धित कार्यालयको ध्यान पुगेको छैन ।’
उनले गाउँपालिकामा १९ करोडमा करोडौं बजेट भ्रष्टाचार भएको भन्दै छानवीनकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत हालेको बताए । तथापी, अख्तियारले हालसम्म कारवाही प्रक्रिया अगाडी नबढाएको सांसद चौधरीले औंल्याए ।