• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

‘नेपाल लोकस्टार’मा धमाल मच्चाउँदै सप्तरीकी सुषमा

‘नेपाल लोकस्टार’मा धमाल मच्चाउँदै सप्तरीकी सुषमा

श्यामसुन्दर यादव
राजविराज, १९ साउन । एपीवान टेलिभिजनबाट प्रसारण भईरहेको सिङ्गगिङ्ग रियालिटी शो ‘नेपाल लोकस्टार’मा सप्तरीकी सुषमा कुमारी  झा अग्रस्थानमा रहँदैआएकी छिन् ।
राजविराज नगरपालिका वडा नम्वर–५ कि सुषमा झा नेपाल लोकस्टारमा दमदार प्रस्तुतिका साथ गन्तव्यतर्फ लम्किएकी हुन् । चार वर्षकै उमेरदेखि गायन क्षेत्रमा प्रवेश गरेकी उनी कुल १ सय ९ प्रतियोगीहरु रहेकोमा हाल टप १६ मा पर्न सफल भएका छिन् । अरबिन्द झा तथा गायत्री मिश्रकी सुपुत्री सुषमा बुवाबाटै सङ्गीत प्रारम्भिक ज्ञान हासिल गरेकी छिन् ।
आफ्नै कडा मेहनतबाट गायन क्षेत्रमा जम्दैआएकी उनी मैथिली साहित्य परिषद्, मिथिला साहित्य कला प्रतिष्ठान लगायत स्थानीय स्तरमा आयोजित कार्यक्रमहरुबाट चर्चामा आएकी हुन् । सुमधुर स्वरकी धनी सुषमाले नेपाल तथा भारतमा आयोजित दर्जनौं ठूला कार्यक्रमहरुमा आवाजको जादु पस्केर दर्शकहरुको मन जित्न सफल भएकी छिन् ।
राजविराज स्थित पाराडाइज कलेजमा विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत सुषमा सानैदेखि गायिका बन्ने संकल्पका साथ साधनारत रहँदैजाँदा उनले नेपाली लोक स्टारमा फारम भरेर पहिलो पटक जनकपुरमा आयोजित अडिसनमा सहभागी भईन् । कोकिलकण्ठी आवाजमा उनले गाएको मैथिली गीत ‘उगना रे मोर कतए गेलाह’ गीतले निर्णायकहरुको मन जित्दै लोकस्टारकालागि छनौट भईन् ।
मिथिला–मधेशको माटोमा हुर्किएकी उनी नेपाल लोक स्टारमा हालसम्म दुई ओटा मैथिली र दुई ओटा नेपाली गीत गाएकी छिन् । उगना रे मोर कतए गेलाह…, चानन भेल विषम रे…, साउने खोला… र गलबन्दी…गीत गाएकी छिन् । हालसम्मकै प्रस्तुतिहरुमा उनले रबिराज साहसँग गाएको ‘गलबन्दी’ले यतिबेला दर्शकहरुमाझ निक्कै चर्चा पाएको छ । मैथिली मातृभाषी सुषमाले गाएको नेपाली गीतबाट दर्शकहरु मात्र नभई निर्णायकहरु समेत तीनछक्क परेका छन् ।
हाल काठमाण्डौमा लोक स्टार बन्ने कसरतमा जुटेकी उनी राष्ट्रिय स्तरको प्रतियोगितामा आफु सहभागी हुनपाएकोमा औधी खुशी छिन् । अति व्यस्तताका बावजुद उनले ‘न्यूज टुडे’सँग कुराकानी गर्दै सुषमाले भनिन् ‘लोकस्टारमा सहभागी हुनु नै मेरोलागि गर्वको कुरा हो, हालसम्म निर्णायक तथा दर्शकहरुबाट पाएको मायाको शब्दमा वर्णन गर्न साध्य छैन् ।’
समान्य परिवारमा जन्मिएकी सुषमाले ‘रियालिटी शो’मा पहिलो पटक चौबन्दी चोलोमा ठाँटिएर मञ्चमा आउँदा नौलो लागेको बताउँदै उनले भनिन् ‘हामी सबै सहभागीहरुको एउटै पहिरणमा मञ्चमा आएर प्रस्तुति गर्दा म धेरै खुशी भएँ, सबै सहभागीहरुमा एकरुपता देखियो ।’ मातृभाषा मैथिली भएका कारण अलिअलि नेपालीको उच्चारणमा गाह्रो हुँदा सरहरुले सहज तरिका सिकाउने गरेकोले आफु अत्यन्तै प्रभावित उनले बताईन् ।
गायन तथा नृत्यमा मिथिला मधेशको सहभागिता एकदमै न्यून रहँदैआएको चर्चा गर्दै उनले भनिन् ‘म जस्ता सयौं प्रतिभावान कलाकारहरु छन् तर हामीले समुचित ठाउँ नपाएर पछाडि परेका हौं, हामीलाई प्रोत्साहनको आवश्यकता छ ।’ हरेक सफलतामा आफुले आमाबुवा, गाउँठाउँ, साथीसङ्गी एवम् परिवेश झलझली सम्झिने गरेको उनले बताईन् । आफु भरमग्दूर प्रयासमा रहेको सुषमाले भनिन् ‘मेरो हरेक पाइलाको सफलता यहाँहरुकै हातमा छ, मेरो सफलता तपाईहरुको सफलता हुनेछ ।’ हालसम्म आफु सुरक्षित रहेको जानकारी दिँदै उनले अब भोटिङ्गको आवश्यकता पर्ने भएकोले सबैलाई सहयोग गर्न आग्रह समेत गरिन् ।