• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हलुवाई समाजका पदाधिकारीहरुको सपथग्रहण

हलुवाई जातिको सामाजिक योगदान महत्वपूर्णः नेता सुमन
हलुवाई समाजका पदाधिकारीहरुको सपथग्रहण

राजविराज, ११ साउन । प्रदेश सभा सदस्य मनिष कुमार सुमनले आर्थिक एवम् सामाजिक रुपमा हलुवाई जातिको महत्वपूर्ण योगदान रहे पनि राजनीतिक रुपमा पहुँच हुन नसकेको बताएका छन् ।
राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिवार आयोजित हलुवाई समाज नेपालको केन्द्रीय समितिका पदाधिकारीहरुको सपथग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव समेत रहेका नेता सुमनले ऐतिहासिक पहिचान एवम् आफ्नै छुट्टै पहिचान बोकेको हलुवाई जातिको योगदान सराहनीय रहेको बताउँदै भने ‘आर्थिक एवम् सामाजिक रुपमा हलुवाई जातिले हाट बजार बसाउने लगायतका कार्यहरुमा महत्वपूर्ण योगदान छ ।’
हलुवाई जातिलाई राज्यको मूलधारमा ल्याउन विशेष प्रोत्साहन आवश्यक रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि सुमनले हलुवाई जातिलाई सूचीकृत गराउन आफुले समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो जातीय पहिचान तथा अधिकारप्राप्तिकालागि हलुवाई जाती एकतावद्ध हुनुपर्नेमा उनले जोड दिए ।
समाजका निवर्तमान अध्यक्ष शिवनारायण साह ‘सुरज’ले हलुवाई समाजलाई अगाडि बढाउन आफुले भ्याएसम्म महत्वपूर्ण कार्यहरुलाई अगाडि बढाएको बताए । समाजलाई अगाडि बढाउन तथा बाँकी रहेका कार्यलाई पूरा गरी थप सशक्त रुपमा काम गर्न उनले शुभकामना दिए । समाजको अध्यक्षको कार्यभार ग्रहण गर्दै यस अघिका कार्यसमितिका अध्यक्ष लगायतका पदाधिकारीहरुले पुर्याएको योगदान सराहनीय रहेको भन्दै प्रशंसा गरे । समाजलाई थप उचाईमा पुर्याउन आफु प्रयासरत रहने तथा समाजका अग्रजहरुको सल्लाह सुझावलाई आत्मसात गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
सपथग्रहण समारोहमा उपाध्यक्ष दशरथ साह, महासचिव भरत साह, पूर्व सह–सचिव रामदेव साह, सदस्य देवनारायण साह, रञ्जु साह, राजेन्द्र साह, लक्ष्मण साह लगायतले मन्तव्य व्यक्त गरे । समाजका निवर्तमान महासचिव महेश साहद्वारा सञ्चालित कार्यक्रममा निर्वाचन प्रमुख भगवानी साहले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराएका छन् ।सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मनिष कुमार सुमन, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवसहित हलुवाई समाज नेपालकालागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ ।