• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीबाट शुरु हुने भो ‘मिथिला देवघर साइकल यात्रा’

सप्तरीबाट शुरु हुने भो ‘मिथिला देवघर साइकल यात्रा’

राजविराज, ११ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित बिरपुर गाउँबाट सामुहिक ‘मिथिला देवघर साइकल यात्रा–२०७६ शुभारम्भ हुने भएको छ ।
मिथिला साहित्य कला प्रतिष्ठानको आयोजना तथा मैथिली साहित्य परिषद् राजविराज समेतको सहयोगमा आगामी साउन २१ गतेदेखि उक्त यात्राको शुभारम्भ हुने भएको हो । जिल्ला समन्वय समिति सप्तरीको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा मिथिला देवघर यात्राको उद्देश्यबारे प्रतिष्ठानका सह–सचिव समेत रहेका चर्चित लोकगायक सुभाष बिरपुरियाले जानकारी दिएका छन् ।
विश्वको सरल, मिठास एवम् समृद्ध मानिएको मैथिली भाषाको विषयमा थप प्रचार–प्रसार तथा एक–आपसमा सम्वन्ध विस्तारका साथै मैथिली लोकगायन परम्परा एवम् शैलीको आदान–प्रदान र मैथिली भाषा, साहित्य, कला, संस्कृती समेतको क्षेत्रमा जागरण ल्याउने उद्देश्यका साथ यात्रा प्रारम्भ हुन लागेको उनले बताए । उनका अनुसार नेपालको मैथिली भाषी क्षेत्र तथा मित्रराष्ट्र भारतको विभिन्न राज्यहरुमा बोलिने मैथिली भाषा बिचको समानताबारे ठाउँठाउँमा विचार मन्थन समेत गरिने बिरपुरियाले जानकारी दिएका छन् ।
राजविराजबाट ३ सय ३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राकालागि १५ दिनको समय तय गरिएको छ । बिरपुरको गाउँबाट डिहबार थानमा पूजाआजा गरी २७ जना साइकल यात्रीको टोली छिन्नमस्ता शक्तिपीठ हुँदै राजविराजको राजदेवी मन्दिरमा दर्शन पश्चात मैथिली साहित्य परिषद्द्वारा औपचारिक रुपमा साइकल यात्रीहरुलाई शुभकामनासहित विदाई गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसी’ले जानकारी दिएका छन् ।
उनका अनुसार मिथिला देवघर यात्राकालागि चर्चित साहित्यकार एवम् मैथिली अभियन्ता प्राज्ञ धीरेन्द्र प्रेमर्षी, छिन्नमस्ता गाउँपालिका–१ का बिरपुर निवासी ललन कुमार यादव लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्भवतः नेपालमै पहिलोपटक हुन लागेको ‘मिथिला देवघर साइकल यात्रा–२०७६’ दुई देश बीचका मैथिलीभाषी बिच सम्वन्ध विस्तार तथा मैथिली अभियानमा आयाम सिद्ध हुने प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र मिश्रले बताए । उनका अनुसार बाद्यवादन सामग्रीका साथै आवश्यक बन्दोबस्तीका सामानसहित यात्रीहरुको टोली प्रत्येक साइकलमा मिथिला–मैथिलीको झण्डा फहराउँदै प्रस्थान गर्नेछन् ।
यात्रामा सुभाष प्रसाद यादव (बिरपुरिया), नारायण यादव, बद्रीनारायण यादव, सूर्यनारायण यादव, बिसुनदेव यादव, योगेन्द्र प्रसाद यादव, श्यामदेव यादव, सकलदेव यादव, विश्वनाथ यादव, देवेन्द्र यादव, राजा यादव, शंकर यादव, दिलिप यादव, लालबहादुर यादव, भुवनेश्वर यादव, सरोज राम, जयकृष्ण राम, देवकुमार राम, बोकाई राम, दरोगा राम, विरेन्द्र कुमार राम, रामदेव मोची, विनोद राम, हरेराम यादव र प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल सहभागी हुने तय भएको छ । उक्त यात्रामा यात्रीको संख्या अझैं बढ्नसक्ने आयोजक समितिको अनुमान छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव, महासंघका सचिव जितेन्द्र कुमार झा, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झा, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त, पत्रकार विद्यानन्द राम, प्रशिक्षार्थी पत्रकार कमल कुमार मण्डल लगायतको उपस्थिति थियो ।