• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा सर्पदंशका घटनामा व्यापक वृद्धि

विषालु सर्पको टोकाईबाट एक सातामा दुई बालकको मृत्यु
सप्तरीमा सर्पदंशका घटनामा व्यापक वृद्धि

राजविराज, १० साउन । वर्षा र बाढीसँगै केही सातायता सप्तरी जिल्लामा सर्पदंशका घटनामा वृद्धि भएको छ ।
साउन महिनाको पहिला साता मात्रै सर्पको टोकाईबाट सिकिस्त भई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ४० भर्ना भएका हुन् । अस्वताल भर्ना भएकाहरुमध्ये रुपनी गाउँपालिका वडा नम्वर १ रायपुरका सदा थरका चार वर्षिय बालकको मृत्यु भएको छ । ढिलो गरेर अस्पताल पुर्याईएका ती बालकको मृत्यु विषालु सर्पको टोकाईबाट भएको अस्पतालले जनाएको छ ।
असार महिनामा मात्रै ३८ जना सर्पदंशबाट सिकिस्त भई उपचार गराउन अस्पताल भर्ना भएको तथ्यांक छ । अस्पतालमा पर्याप्त एन्टिस्नेक भेनम ईन्जेक्सन तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयासबाट सबैको ज्यान जोगाउन सफल भएको छ । यद्यपी वर्षा र बाढीसँगै सर्पको टोकाईबाट सिकिस्त भई दैनिक ७ देखि १२ जनासम्म उपचार गराउन अस्पताल भर्ना भएको अस्पतालका डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार इमजेन्सी कक्षमा सर्पदंशका विरामीको संख्या बढ्दै गएको छ । सर्पले टोक्ने वित्तिक्कै अस्पताल ल्याईएकाहरुलाई आफुहरुले सफलतापूर्वक सेवा दिएको जानकारी दिँदै डा. झाले भने ‘गोमन, करेंत लगायतका अति विषालु सर्पले टोकेका कतिपय अति सिकिस्तहरुलाई अन्यत्र सुविधासम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ, किनभने यहाँ भेन्टिलेटर सेवा सञ्चालनमा आउनसकेको छैन ।’ बाढीको समयमा सर्वसाधारणले थप सजगता अपनाउनुपर्नेमा जोड दिँदै डा. झाले सर्पले टोकेको थाहा पाउने वित्तिक्कै झारफुकमा नअल्झी अस्पताल वा सर्पदंश उपचार केन्द्रमा लगिएमा ज्यान जोगाउन सकिने बताए ।
यसैगरी खडक नगरपालिका–७ स्थित कल्याणपुरमा असार १७ गतेदेखि भीम दल गणद्वारा सञ्चालनमा आएको सर्पसर्पदंश उपचार केन्द्रमा साउन १ देखि ९ गतेसम्म १६ जनाले सेवा पाएका छन् । सर्पदंश उपचार केन्द्रका प्राविधिक सन्तोष पौडेलका अनुसार असार १७ देखि ३१ गतेसम्म २१ जनाले सर्पदंश पीडितले सेवा पाएका छन् । हालसम्म भर्ना भएका सबै सर्पदंश पीडितको सफलतापूर्वक उपचार भएको सञ्चालक समितिका प्रमुख मो. उस्मान मियाँले जानकारी दिएका छन् ।
सर्पको टोकाईबाट यसरी जोगिने
प्राध्यापक डा. सञ्जीव कुमार शर्माका अनुसार गर्मी र वर्षायाममा सर्प सुरक्षित स्थलको खोजीमा सलबलाउने गर्छ । वासस्थानमा पानी पसेपछि सर्प सुक्खा स्थानको खोजी गर्दै मानववस्तीमा पुग्ने गर्छ । सोही क्रममा सर्पले मानिसलाई डस्ने गरेको पाईएकोले बाढी प्रभावित वस्तीहरुमा थप सतर्कता अपनाईनु आवश्यक छ ।
घर तथा खेल मैदानवरिपरि सफा राख्नुपर्ने, झाडी, ढुङ्गा, हिलो र पातको थुप्रो हटाउनुपर्ने,
खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाउनुपर्ने, राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्नुपर्ने डा. शर्माको सुझाव छ । ढुङ्गाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुनसक्ने भएकोले त्यस्ता ठाउँमा काम गर्दा सतर्क रहनुपर्ने, केटाकेटीलाई सर्प हुन सक्ने इलाकामा जानबाट रोक्ने, आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राख्नुका साथै भुइँमा सुत्न छाडेर,
झुल टाँगेर मात्र सुत्नेपर्ने तथा पालभित्र सुत्ने हो भने द्वारा राम्ररी बन्द गरेर मात्र सुत्न उनको सल्लाह छ ।