Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बलान विहुल गाउँपालिकाः २४ लाखभन्दा बढी खर्चियो, पानीको हाहाकार कायमै

बलान विहुल गाउँपालिकाः २४ लाखभन्दा बढी खर्चियो, पानीको हाहाकार कायमै

विद्यानन्द राम
राजविराज, ६ साउन । स्वच्छ पानी पिउनु नागरिकको नैसर्गिक अधिकार हो । तर, जनप्रतिनिधिको वेवास्ताका कारण सप्तरीको बलान विहुल गाउँपालिका–५ रामनगरका झण्डै एक सय सर्वसाधारण ट्युबेलबाट पानी भर्नकालागि तछाड–मछाड गर्दै र घुईचो झेल्दै खानेपानीको जोहो गर्ने बाध्यता खेप्दै आएका छन् ।
‘एकाविहानै सर्वसाधारणहरु तछाडमछाड गर्दै हतारिएर बाँच्न चाहिने खानेपानीको जोहो गर्न ट्युबेल (कल) मा पानी भर्न लाममा बस्नुपर्छ’ चन्दर साहले भने–‘वर्षौदेखि खानेपानीको समस्याले पिरोलिएको छ, एक वर्षअघि नेताहरुले गाउँमा एउटा ट्युबेलको व्यवस्था गराईदिएपनि पानीकै निहुँमा दिनहुँ झैझगडाका घटनाहरू समेत घट्ने गरेका छन् ।’

‘बस्तीमा रहेको एउटा मात्रै ट्युबेल बिग्रिदा अझैं पानी भर्न भारत नै पुग्नुपर्छ, तै पनि आफुहरुलाई हेर्ने कोही छैन् ।’

दशगज्जा क्षेत्रमा बसोवास गर्दै आएका रामनगरवासीलाई पानीको समस्याले दैनिकी कष्टकर भएको उनले दुःखेसो गरे । ‘दुई पुस्तासम्म नजिकैको पोखरी र भारतबाट पानी ल्याएर खाएँ’ उनले भने–‘बस्तीमा रहेको एउटा मात्रै ट्युबेल बिग्रिँदा अझैं खानेपानी ल्याउन भारत नै पुग्नुपर्छ, तै पनि आफुहरुलाई हेर्ने कोही छैन् ।’
उनले नेपाली भुमिको दशगज्जा क्षेत्रमा जन्मिनु नै अभिश्राप रहेको पीडा पोखे । मो. फिरोजले स्थानीय तहको संरचना संघीयता अनुसार फेरिएर जनप्रतिनिधीहरुले खानेपानी लगायतको समस्या अन्त्य होला भन्ने आशामा रहेपनि समस्या जस्ताको त्यस्तै रहेको गुनासो गरे । ‘आफैले चुनेका जनप्रतिनिधिले आफ्नो समस्या कसो नबुझ्लान भनेर आशा गरेका थियो’ उनले भने– ‘दुई वर्ष वित्दा पानीको समस्यासम्म समाधान नगर्दा अब त निराशा छाउन थालेको छ ।’
चुनावी घोषणापत्रमा उल्लेख गर्ने र प्रत्येकको भोटसँग साटिएको पानीको समस्या अन्त्य गर्ने, रामनगरवासीले सफा र स्वच्छ पानी खान पाउने प्रतिवद्धता भने सेलाउँदै गएको उनले बताए । यो समस्या भने दशगज्जामा बसोवास गर्ने सर्वसाधारणको मात्रै होईन । सोही वडामा बसोवास गर्ने ४० परिवार सदाय (मुसहर) समूदायको पनि हो । झण्डै १ सय ५० सर्वसाधारणहरुलाई पनि लाम लागेरै ट्युवेलबाट पानी भर्र्नुपर्ने बाध्यता छ । तथापी, समस्यातर्फ स्थानीय सरकारले गम्भिरता देखाएको छैन् ।
‘जनताको न्यूनतम आवश्यकता पूरा गर्नुपर्नेमा आफ्नै विलासितामा लागेको छ जनप्रतिनिधि’ डोमा सदायले भने–‘जनप्रतिनिधिलाई पटक पटक समस्या बारे अवगत गराउँदा समेत वास्ता नै गर्दैछन् ।’ उनले विपन्न दलितलाई कम्तिमा खानेपानीको व्यवस्था गराइदिन आग्रह समेत गरे । उसो त गाउँपालिकामा ४६ वटा ट्युवेल र ३० वटा स्यालो बोरिङ्ग जडान गरिएको छ । त्यसवापत २४ लाख ५२ हजार ४ सय ९३ रुपैयाँ ४६ पैसा निकासा समेत भएको गाउँपालिकाको महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । तर, उपभोक्ता मार्फत भएको ट्युबेल र स्यालो बोरिङ्ग जडान भएको स्थानको विवरण भने खुलाइएको छैन् ।
यता, स्थानीयले गाउँपालिकाको कुनै स्थानमा ट्युबेल र स्यालो बोरिङ्ग जडान नभएको आरोप लगाएका छन् । उनीहरुले ट्युवेल र स्यालो बोरिङ्ग जडान नभएकोले सम्वन्धित निकायले छानवीन गर्नुपर्ने माग समेत गरे ।
गाउँपालिका अध्यक्ष दयानन्द गोइतले उक्त स्थानहरुमा खानेपानीको व्यवस्थापन गर्ने कार्यमा लागेको बताए । उनले १२÷१५ दिनभित्र खानेपानीको व्यवस्थापन गरिसक्ने न्यूज टुडेसँग प्रतिवद्धता समेत जनाए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।