• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वर्षा र बाढीले तिलाठी कोइलाडीमा दुई हजार परिवार प्रभावित

वर्षा र बाढीले तिलाठी कोइलाडीमा दुई हजार परिवार प्रभावित

राजविराज, २९ असार । विगत केही दिन यताको बर्षा तथा खाँडो, महुली, जिता र कोशीनदीको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएको छ ।
खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किदा गाउँपालिकाको वडा नम्वर १ जलमग्न भएको छ भने त्यहाँको करिब आठ सय घर डुबानमा परेको हो । यस्तै जिता, महुली र कोशी नदीको बाढीले वडा नम्वर ४ कोइलाडी, वडा नम्वर ५ को. बर्साइनका वासिन्दाहरु प्रभावित भएका छन् ।
यसैगरी वडा नम्वर ३ सकरपुरामा भत्किन लागेको खाँडो नदीको बाँधलाई स्थानीय युवाहरु दामोदर मुखिया, उग्रकान्त झासहितकाले बाँध मर्मत गरी भत्काउनबाट जोगाएको विपद् जोखिमन्युनीकरण अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार उनीहरुलाई गाउँपालिका कार्यालयको तर्फबाट तीनहजार बोरा र जाली उपलब्ध गराइएको छ ।
यता वडा नम्वर २ लौनियाँमा भत्किन लागेको बाँधलाई स्थानीय वडा अध्यक्ष खगेन्द्र मण्डलको अगुवाईमा युवाहरुले बाँध भत्किनबाट जोगाएका छन् । गाउँपालिकाले दिएको बोरा र जालीबाट बाँध भत्किनबाट उनीहरुले जोगाउन सफल भएका छन् । बाढीले गाउँपालिकाको कार्यालयसमेत डुबानमा परेको छ । कार्यालयभित्र पानी नपसेपनि परिसरमा तीन फिटसम्म बाढीको पानी जमेको छ । कार्यालयको सामान तथा कागजपत्रहरु जोगाउन आवश्यक तयारी थालिएको अधिकृत झाले जानकारी दिएका छन् । उनका अनुसार तिलाठीमा करिब एक दर्जन घर बाढीको कारण भत्किएको छ ।