Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बाढीले सप्तरीमा डेढ हजार घर डुबान

सुरक्षित स्थानतर्फ जाँदै बाढी पीडितहरु, एलर्ट रहन आग्रह
बाढीले सप्तरीमा डेढ हजार घर डुबान

राजविराज, २८ असार । अविरल वर्षा र बाढीका कारण सप्तकोशीसहितका नदीहरुमा आएको बाढीका कारण सप्तरीमा एक हजार पाँच सय भन्दा बढी घर डुबानमा परेको छ ।
खाँडो नदीको बाँध भत्किएर राजविराज नगरपालिका–१५ र १६ का ३ सय, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ३, ४, ७ र १२ का २ सय, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर १ का करिब १ सय, बोदे वरसाइन नगरपालिका वडा नम्वर–३ मा एक सय पचास भन्दा बढी घर डुबान भएको छ । कञ्चनरुप नगरपालिका –१, २ र ३, तिरहुत ४ र ५ का ३ सय, त्रियुगा नदीको बाँध भत्किँदा सप्तकोशी नगरपालिका वडा नम्वर –१ र ३ मा २० घरमा समेत बाढीको पानी पसेको छ ।
यसैगरी सप्तकोशी नदीको बाढीले हनुमाननगर कंकालिनी वडा नम्वर –१३ को एक सय पचास परिवारको सिङ्गो गोबरगाढा बस्ती जलमग्न भएको छ । सोही नगरपालिकाको वडा नम्वर १२ मा समेत कोशीको पानीले ६० घर जलमग्न भएको छ । हनुमाननगरपालिका कार्यालयमा समेत बाढीको पानी पसेको छ ।
वस्तीमा कोशीको पानी बढ्न थालेपछि स्थानीय वासिन्दाहरु घर छाडेर सरसामान, गाईवस्तुसहित सुरक्षित स्थानतर्फ लागेका छन् । यस अतिरिक्त सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा छिटफुट रुपमा घरहरु डुबान तथा कटानमा परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । बाढीका कारण जिल्लाको विभिन्न स्थानहरुमा लगाईएको धान खेती नष्ट भएको छ भने सयौं बिघा खेत कटानमा परेको छ ।
यता प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरी प्रमुख समेतको टोलीले जिल्ला विभिन्न स्थान पुगेर बाढी पीडितको अवस्थाबारे जानकारी लिएका छन् । यसका साथै राहत तथा उद्धारको टोलीलाई तयारीमा अवस्थामा राखी परिचालन गरिएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा शनिवारै एक हजार थान त्रिपाल पठाईएको विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा समेत त्रिपाल माग भएकोले आइतबार पठाईने तयारी भईरहेको छ ।
रुपनी गाउँपालिकामा सय घर डुबान
जिल्लाको रुपनी गाउँपालिका वडा नम्वर १ चौधरी टोलमा १५ घर, मुतनी खोलाको बाढीले हर्दियाको ७ घर, वडा नम्वर १ लबका टोल छपकीमा १२ घर, वडा नम्वर ५ धुरगाममा २५ घर, औधोगिक क्षेत्र परिसरका भवनहरु समेत डुबानमा परेको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् । उनका अनुसार वडा नम्वर ६ जगमोहन र रायपुर कटानको जोखिम २५ घर, वडा नम्वर २ को पौवामा १५ घर कटानको जोखिममा रहेको छ । गाउँपालिकाको विभिन्न स्थानहरुमा सडकहरु कटानमा पर्नुका साथै पुलपुलेसाहरु समेत ठाउँठाउँमा भत्किएको छ ।
एलर्ट रहन सूचना जारी
सप्तरी जिल्लाको बरमझिया र आसपास क्षेत्रमा भारी वर्षा भईरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । उक्त क्षेत्रमा महुली, खाँडो लगायत साना नदीहरुमा नदी तटीय क्षेत्रमा खतराको तहभन्दा ठूलो बाढी आउन सक्ने भन्दै आइतवार विहानसम्म एलर्ट रहन सूचना जारी गरेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।