• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को कार्यालय

राजविराजमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को कार्यालय

राजविराज, १२ जेठ । सप्तरीको राजविराजमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पुर्वाधार तयारी विकास समितिको कार्यालय विहीबारदेखि सञ्चालनमा आएको छ ।
प्रतिष्ठानको कामलाई तिव्रता दिन स्वास्थ्य मन्त्रालयले काठमाण्डौ स्थित वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवम् डाइबिटोलोजिष्ट प्रा. डा. सञ्जय कुमार ठाकुरलाई कार्यकारी निर्देशकको जिम्मेवारी तोकेर पठाएको हो । जेठको पहिलो साता राजविराज आईपुगेका उनले अस्पताल परिसरमा कार्यालय व्यवस्थापन गरी सञ्चालन गरेका छन् ।
उप–प्रधान एवम् स्वास्थ्य जनसंख्यामन्त्रीको निर्देशनमा सप्तरी आईपुगेका डा. ठाकुरलाई २५ महिनाको कार्य अवधी तोकेर पठाएको छ । समितिको अध्यक्षसहित अन्य पदाधिकारीहरुको मनोनयन भईनसकेकोले डा. ठाकुरलाई आर्थिक कारोबार समेतको अख्तियारी दिईएको जनाईएको छ । प्रतिष्ठान’को पुर्वार्धार तयारी विकास समितिको कार्यालय सञ्चालनमा आए पनि आगामी असार १८ गते उप–प्रधान एवम् स्वास्थ्य जनसंख्यामन्त्री यादवद्वारा एक समारोहका बीच उद्घाटन गरिने कार्यक्रम रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
पुर्वाधार तयारी विकास समितिका सदस्य सचिव समेत रहेका कार्यकारी निर्देशक ठाकुरका अनुसार मन्त्री परिषद वैठकले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पुर्वार्धार तयारी विकास समिति (गठन) आदेश पारित गरिसकेको भए पनि ९ सदस्यीय समितिमा पदेन सस्दयको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी र सदस्यको टुङ्गो लागेपछि समितिले पुर्णता पाउने छन् ।
एक वर्षभित्रै नर्सिङ्ग कलेजको भवन निर्माण सम्पन्न गर्ने गरी निर्माण तिब्र रुपमा अगाडि बढाईएको उनले बताए । हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारी रणनीति अनुसार प्रदेश २ को राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागिएको हो । मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानकालागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ विघा जग्गा उपलब्ध गराएको छ ।
संघीय सरकारले आगामी वर्ष २०७६÷०७७ को बजेटमा ४० करोड रुपैयाँ समेत विनियोजन गरेको छ ।