• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनी गाउँपालिकाद्वारा पशुपालकलाई कृषि उपकरण वितरण

रुपनी गाउँपालिकाद्वारा पशुपालकलाई कृषि उपकरण वितरण

राजविराज, १२ असार । व्यवसायिक रुपमा पशुपालन गर्दैआएका किसानहरुलाई सप्तरीको रुपनी गाउँपालिकाले कृषि उपकरण वितरण गरेको छ ।
युवाहरु विदेश पलायन भएको अवस्थामा पशुको अहारा तयार पार्न मद्दत मिल्ने उद्देश्यका साथ गाउँपालका अन्तर्गतका २७ जना किसानलाई घाँस–पराल काट्ने मेसिन उपलब्ध गराईएको हो । करिब ३० हजार रुपैयाँ पर्ने विद्युतीय कटर मेसिन पचास प्रतिशत अनुदानमा उपलब्ध गराईएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
व्यवसायिक रुपमा पशुपालन एवम् खेती गर्ने किसान तथा कृषक समूहहरुलाई आफुहरुले प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आर्थिक वर्षमा समेत थप कृषि र कृषकमुखि कार्यक्रम ल्याएको समेत जानकारी दिए । सहकारीको माध्यमबाट वा कृषक समूह बनाएर सामुहिक रुपमा खेती एवम् व्यवसाय गरेमा थप लगानी गरिने अध्यक्ष यादवले बताए ।
यता आधुनिक उपकरण पाएपछि आफुहरुलाई पशुपालनमा थप टेवा पुग्ने भन्दै किसानहरुले खुशी व्यक्त गरेका छन् । उक्त गाउँपालिकाले यसअघि ११ थान कटर मेसिन, दुध बोक्ने क्यान ६० थान, काउम्याट ७५ थान, घाँसको वीऊ, किटनाशक औषधी वितरण तथा भ्याक्सिनेसन कार्यक्रमलाई सघन रुपमा सञ्चालन गर्दैआएको छ ।
कृषि उपकरण वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बेचनी कुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादव, सरसफाई शाखा प्रमुख मिथिलेश कुमार यादव, पशु शाखाका उप–प्रमुख धनजीत खड्गा लगायतको उपस्थिति थियो ।