• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शहिद परिवारलाई साइकलसहित शैक्षिक सामग्री

शहिदको योगदानलाई विर्सिने छैनौंः सांसद यादव
शहिद परिवारलाई साइकलसहित शैक्षिक सामग्री

राजविराज, ९ असार । प्रदेश सभा सदस्य विदेश्वर यादव विक्की यादवले मधेश आन्दोलनका शहिदहरुकै बलिदानीले देशमा संघीयता आएको भन्दै यसलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सप्तरीको राजविराजमा आयोजित शहिद परिवारका बालबालिकालाई शैक्षिक सामग्री तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘शहिदहरुकै बलिदानीबाट आएको संघीयतालाई थप व्यवस्थित गर्दै संस्थागत गर्नु जरुरी छ’ उनले भने ‘हामीले शहिदको योगदानलाई विर्सिने छैनौं ।’
शहिद परिवारको पालनपोषण, शिक्षादिक्षा, रोजगारी लगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको भन्दै आगामी दिन थप सुविधाकालागि आफुहरु प्रयासरत रहेको उनले बताए । सप्तरी क्षेत्र नम्वर ३ ‘ख’ बाट निर्वाचित सांसद यादवले आफु यसवर्षको कार्यक्रम अन्तर्गत शहिद परिवारलाई साइकल, पंखा, सोलार प्यानल, ब्याग सहितका सामग्री उपलब्ध गराएको तथा अर्को वर्ष समेत यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा शहिद दिलिप कुमार साहकी पत्नी पूनम साहले शहिदहरुको सपना सकार पार्न जिम्मेवार भएर नेताहरुलाई अघि बढ्न आग्रह गरिन् । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले मधेश आन्दोलदनका क्रममा शहादत प्राप्त गरेका परिवारहरुप्रति प्रदेश सरकार थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए । परिवारका सदस्य गुमाएको अनुभूति हुन नदिन राष्ट्रिय जनता पार्टी नेपाल प्रतिवद्ध रहेको भन्दै आफु समेत आपत–विपत वा समस्या परेको अवस्था २४औं घण्टा साथ रहने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा राजपाका नेताहरु विरेन्द्र प्रसाद साह, दिनेश यादव, अमरनाथ मण्डल, हरेराम यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सह–सचिव चन्दन यादव लगायतले मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यूवा सशक्तिकरण संघ लालापट्टीका अध्यक्ष किशोर कुमार यादव ‘केसी’को अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार श्रवण देवले गरे ।