• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लोक सेवा आयोग : फारम भरेपछि ११ गतेसम्म सिङ्गल दस्तुर

लोक सेवा आयोग : फारम भरेपछि ११ गतेसम्म सिङ्गल दस्तुर

राजविराज, २ असार । गत जेष्ठ १५ गते स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोक सेवा आयोगले आवेदन आह्वान गरेको छ । तर अनलाइन सिस्टमलाई व्यवस्थित गर्न नसक्दा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् ।
स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट www.psconline.psc.gov.np छिनछिनमा लोड नहुने समस्या देखिएको छ । ‘विहानै फारम भर्न राजविराज आए, तर ५ बजेसम्म चारैतिरको साइबर धाउँदा पनि फारम भर्न सकिएन’ वलान विहुल गाउँपालिकाका शम्भु यादवले भने–‘आफुजस्ता धरै फारम भर्नेहरु साइबर धाएरै दिन विताए, तर काम भने कसैको भएन ।’
कुनै बेला पेज लोड भएपनि विवरण अपलोड नभईरहेका कारण साइबरबालाले भोली आउन भनेपछि घरतिर लागेको दुखेसो गरे । ‘अब त पढ्न पनि मन लाग्दैन’ उनले भने–‘एकातर्फ परीक्षा हुन्छ कि हुदैन् भन्ने विषय अन्यौल छ भने अर्कोतिर फारम भर्न सकिरहेको छैन् ।’
फारम भर्नेहरूको चापका कारण अनलाइन सिस्टममा समस्या आएको स्वीकार्दै आयोगको हेलो लोक सेवा आयोगको फेसबूक पेजमा सर्भर थप्ने काम भइरहेको जनाएको छ । यसैगरी फारम सबमिट गरिसकेका उम्मेदवारले ३ गतेपछि ११ गतेसम्म सिङ्गल दस्तुरमै दरखास्त बुझाउन सक्ने पेजमा जनाइएको छ ।
विज्ञापनमा आवेदन दिने अन्तिम म्याद मंगलवारसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिन्छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अलमलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्ने क्रमलाई तीव्रता दिएका छन् ।