• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खाँडो नदी नियन्त्रणमा खर्चियो ४५ करोड

नदी नियन्त्रण कार्य निष्प्रभावी, बाढीको त्रास यथावतै
खाँडो नदी नियन्त्रणमा खर्चियो ४५ करोड

राजविराज, ९ जेठ । वर्षेनी खाँडो नदीको बाढीले जनधनको क्षति खेप्दै आएका सप्तरीको दक्षिणी भेगका आधा दर्जनबढी बस्तीका वासिन्दाहरुमा यस वर्ष अहिलेदेखि नै त्रास बढेको छ ।
तीन वर्षअघि सुरु गरिएको खाँडो नदी नियन्त्रण कार्य अझै प्रभावकारी हुन नसक्दा उनीहरुमा त्रास बढेको हो । नदीको बाढीले जनधनको क्षति जोगाउन तत्कालिन सिंचाईमन्त्री उमेशकुमार यादवको विशेष पहलमा ‘खाँडो नदी नियन्त्रण आयोजना’ स्थापना गरि २०७२÷०७३ मा डिपिआर तयार गरियो । तर, चार वर्ष वित्न लाग्दा पनि आयोजनाले नदी नियन्त्रण कार्य प्रभावकारी रुपमा गर्न सकेको छैन् ।
हालसम्म ४५ करोडबढी बजेट खर्चेर २० प्रतिशत मात्रै नदी नियन्त्रणको कार्य भएको छ । आयोजनाले प्रभावकारी कार्य गर्न नसक्दा नदी छेउमै रहेका उक्त वस्तीहरु बाढीको उच्च जोखिम छन् ।

‘०७४ अषाढ–साउनमा आएको बाढीले घर डुवान भएपछि एक सातासम्म आफन्तकोमा बसे’ तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका रामचलितर मालीले भने–‘गत वर्षपनि त्रासमै २ महिनासम्म दिन गन्दै विताए, अब यस वर्ष के हुन्छ कु नि?’ ‘कर्मचारीमा हावी रहेको कमिशन तन्त्र, उपभोक्ता तथा ठेकेदारको लापर्वाही तथा कोटेशनमा काम बाँड्ने गलत परिपाटीले नदी नियन्त्रण कार्य प्रभावकारी हुन सकेको छैन् ।’

सोही ठाउँका भोला खंगले सानैदेखि बाढीको त्रासमा जीवन विताएको बताए । ‘शासन, सत्ता परिवर्तन भए, तर आफुहरुको अवस्था ज्यूँ का त्यु’ ४५ वर्षीय खंगले भने–‘तथापी, आफुहरुको समस्यातर्फ कोहि पनि गम्भिर भएन् ।’ नदीको तटबन्ध निर्माण नहुँदा सकरपुरा, रम्पुरा मल्हनियाँ, तिलाठी, तोपा, लौनियाँ लगायतका बस्ती बाढीको उच्च जोखिममा छन् ।
‘तटबन्ध निर्माण भएको ठाउँमा पनि गुणस्तरहिन काम भएको छ’ राजविराज–१५ देउरी भरुवाका डोमी यादवले भने–‘कर्मचारीमा हावी रहेको कमिशन तन्त्र, उपभोक्ता तथा ठेकेदारको लापरवाही तथा कोटेशनमा काम बाड्ने गलत परिपाटीले नदी नियन्त्रण कार्य प्रभावकारी हुन सकेको छैन् ।’ तटबन्ध निर्माणको प्रक्रिया मात्रै पुरा गरेको आरोप लगाउदै यादवले २ वर्षअघि नै दर्जनौ स्थानमा कटान भएको ठाउँमा फेरि भत्किने उतिकै सम्भावना रहेको बताए ।
नदिको दुवैतर्फ तटबन्ध निर्माण कार्यकालागि ०७२–०७३ मा ४ करोड, ०७३–०७४ मा साढे १६ करोड र ०७४–०७५ मा साढे २२ करोड रुपैयाँ खर्च भईसकेको छ भने चालू आर्थिक वर्षमा हालसम्म ६ करोड भन्दा बढी रुपैयाँ खर्च भएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।
‘डिपिआर अनुसार खाँडो नदीको दुवैतर्फ २५÷२५ किलोमिटर गरी कुल ५० किलोमिटरको तटबन्ध निर्माण कार्य ०७८÷०७९ सम्म सम्पन्न हुनुपर्ने हो’ आयोजना प्रमुख यादवले भने–‘तर, समयमै रकम निकासा नहुँदा र स्थानीयहरुको अवरोधका कारण निर्माणमा ढिलाई भईरहेको छ ।’
सप्तरीमा दुई वर्ष यताको बाढीमा परि ५ जनाको मृत्य भएको छ भने करोडौं रुपैया बराबरको धनमाल क्षति भएको छ ।