• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा रामराजा सिंह प्रतिष्ठानको कार्यालय खोल्ने तयारी

राजविराजमा रामराजा सिंह प्रतिष्ठानको कार्यालय खोल्ने तयारी

राजविराज, ५ जेठ । सप्तरीको राजविराजमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले गति पाउलान् कि नपाउलान् भनी दुविधा रहेको अवस्थामा प्रतिष्ठानको कार्यालय समेत सञ्चालनमा आउने तयारी थालिएको छ ।
प्रतिष्ठानको कार्यालय सञ्चालन गर्न पुर्वार्धार तयारी विकास समितिको कार्यालय तीन दिनभित्रै सञ्चालन हुने भएको हो । प्रतिष्ठानको कामलाई तिव्रता दिन स्वास्थ्य मन्त्रालयबाट एक टोली समेत राजविराज आईसकेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
उनका अनुसार जतिसक्दो चाँडो कार्यालय सञ्चालनमा ल्याईने प्रतिष्ठानको कार्यालय सञ्चालन गर्न गठित पुर्वाधार तयारी विकास समितिका सदस्य सचिव तथा कार्यकारी निर्देशक सञ्जय ठाकुर स्वयंम् कार्यालय व्यवस्थापनमा जुटेका छन् । तत्कालकालागि कार्यालय सञ्चालन तथा आवश्यक गतिविधीहरु सञ्चालन गर्न राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यालय सञ्चालनको तयारी भईरहेको निर्देशक ठाकुरले जानकारी दिएका छन् ।
मन्त्री परिषद वैठकले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पुर्वार्धार तयारी विकास समिति (गठन) आदेश पारित गरिसकेको उनले जानकारी दिए । ९ सदस्यीय समितिमा पदेन सस्दयको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी र सदस्यको टुङ्गो लागेपछि समितिले पुर्णता पाउने जनाईएको छ ।
समितिको पहिलो वैठक वसेको मितिले २५ महिना वा प्रतिष्ठान ब्यवस्थापन गर्ने सम्वन्धमा जारी भएको ऐन प्रारम्भ भएको मितिले ४५ दिनभित्र समितिले आफनो काम सम्पन्न गर्नेछ । ‘गठन आदेश अनुसार समितिको पदावधि २५ महिना छ’ ठाकुरले भने–‘तर, हामी आफनो जिम्मेवारी एक वर्षभित्रै नर्सिङ्ग कलेजको भवन निर्माण सम्पन्न गर्ने गरी काम गछौं ।’ कार्यालय सञ्चालनमा आएसँगै प्रतिष्ठान निर्माणको कामले तिब्रता पाउने उनले जानकारी दिए ।
हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारी रणनीति अनुसार प्रदेश २ को राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागिएको हो । मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानकालागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ विघा जग्गा उपलब्ध गराएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष डा. सुबोध अधिकारीको संयोजकत्वमा गठित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाव समिति’ले गत वैशाख ६ गते प्रतिष्ठान निर्माणस्थलको निरीक्षण गरेको थियो । यसअघि स्वास्थ्य मन्त्री उपेन्द्र यादव तथा प्राविधिकको टोलीले पनि जग्गाको निरीक्षण गरी प्रतिष्ठानको कामलाई प्राथमिकताका अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।