• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मिडिया विधेयक विरुद्ध पत्रकारहरुद्वारा सञ्चार उपकरणसहित प्रदर्शन

मिडिया विधेयक विरुद्ध पत्रकारहरुद्वारा सञ्चार उपकरणसहित प्रदर्शन

राजविराज, १ जेठ । नेपाल सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विरुद्ध सप्तरीसहित देशैभरिका पत्रकारहरुले शुक्रवार सञ्चार उपकरणसहित प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार पत्रकारहरुले सञ्चार उपकरणसहित जिल्ला स्थित सदरमुकामहरुमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले काठमाडौंमा संसद बाहिर सञ्चार साधनसहित बृहद प्रदर्शन गरेका छन् । सप्तरीका पत्रकारहरुले महासंघबाट सञ्चार उपकरणका साथ राजविराज नगरपालिकामा प्रदर्शन गरेका छन् ।
नगर परिक्रमा पश्चात पुनः महासंघ कार्यालयमै पुगी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले धन्यवाद ज्ञापन गर्दै आन्दोलन कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउन तथा हरेक कार्यक्रमहरुमा सहभागिताकालागि आग्रह गरेका छन् ।
महासंघको केन्द्रीय सर्कुलर अनुसार यसअघि जेठ १ गते हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका छन् । जिल्ला स्थित महासंघका शाखाहरुमार्फत हातमा कालोपट्टी बाँधेर काम गरेका छन् भने विधेयकबारे अन्तरक्रिया समेत गरिएको छ ।
नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघले गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको थियो । महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ । महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गरेको छ ।