• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मिडिया काउन्सिल विधेयक विरुद्ध देशैभरिका पत्रकार आन्दोलित

मिडिया काउन्सिल विधेयक विरुद्ध देशैभरिका पत्रकार आन्दोलित

राजविराज, १ जेठ । नेपाल सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विरुद्ध सप्तरीसहित देशैभरिका पत्रकारहरुले बुधवार समेत आन्दोलनलाई निरन्तरता दिएका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका छन् । जिल्ला स्थित महासंघका शाखाहरुमार्फत हातमा कालोपट्टी बाँधेर काम गरेका छन् भने विधेयकबारे अन्तरक्रिया समेत गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेका छन् भने मिडिया विधेयकबारे छलफल गरिएको छ । नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघले गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको थियो ।
महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ । महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गरेको छ ।
महासंघको पूर्व घोषित कार्यक्रम अनुसार जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने, महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल, जेठ ३ गते काठमाडौंमा संसद बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहद प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।