• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लोककल्याणकारी विज्ञापनको भुक्तानी संघर्ष समितिद्वारा विरोध प्रदर्शन

लोककल्याणकारी विज्ञापनको भुक्तानी संघर्ष समितिद्वारा विरोध प्रदर्शन

राजविराज, १ जेठ । नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा गठित लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी संघर्ष समितिद्वारा बुधवार विरोध प्रदर्शन गरियो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, संघर्ष समितिका संयोजक श्यामसुन्दर यादव, महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, अनिल कुमार अनल, महासंघका प्रदेश सचिव रामनारायण विश्वास, सदस्य ललिता साह, महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, पूर्व सचिव सुरेन्द्र प्रसाद गुप्ता लगायतको पत्रकारहरुको टोलीले यसअघि प्रधानमन्त्री लगायत सरोकारवाला निकायमा पठाईएको ज्ञापनपत्रमा भएको सुनुवाईबारे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले तत्काल सूचना विभाग, धनुषा हुलाक कार्यालय समेतका निकायका प्रमुखहरुलाई फोन गरेर लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी प्रक्रियाबारे चासो लिएका छन् । भुक्तानीकालागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।
प्रदेश नम्वर–२ को सप्तरी र सिरहा जिल्लाका मिडियाहरुले विगत ९ महिनादेखि लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै २१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । प्रदेश अन्तर्गतका अन्य जिल्लाहरुबाट प्रकाशित पत्रिकाहरुले समेत पुस महिनायता लोककल्याणकारी विज्ञापनको भुक्तानी नपाएको भन्दै संघर्षका कार्यक्रमलाई अगाडि बढाईएको छ ।
समितिले गत वैशाख २९ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री, सञ्चारमन्त्री, नेपाल पत्रकार महासंघ, सूचना विभाग र प्रेस काउन्सिलमा माग सहितको ज्ञापन–पत्र पठाएका छन् । बुधवार नेपाल पत्रकार महासंघ शाखा कार्यालय अगाडिबाट दवाव र्याली परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक विरोध प्रदर्शन गरिएको छ । सप्तरी सिरहासहित प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ सहित विभिन्न सङ्गठन एवम् मिडियाहरुसँग समन्वय गरी जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय अगाडि विरोध कार्यक्रम आयोजना गर्ने लगायतका कार्यक्रमहरु आयोजना गर्ने तयारी भईरहेको संघर्ष समितिका संयोजक श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।