• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

कृषिमन्त्री साहद्वारा छिन्नमस्तामा विश्रामगृह शिलान्यास

समयमै काम सम्पन्न भए थप बजेट दिने प्रतिवद्धता
कृषिमन्त्री साहद्वारा छिन्नमस्तामा विश्रामगृह शिलान्यास

राजविराज, १९ वैशाख । सप्तरीको सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठ प्राङ्गणमा विहीबार एक कार्यक्रमका बिच ‘विश्रामगृह’को शिलान्यास गरिएको छ ।
प्रदेश सभा सदस्य एवं प्रदेश नम्वर २ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उक्त ‘विश्रामगृह’को शिलान्यास रहेका हुन् । शिलान्यास पश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले छिन्नमस्ता शक्तिपीठ प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेकोले यसको संरक्षण सम्वद्र्धन एवम् विकासकालागि प्रदेश सरकार समेत प्रतिवद्ध रहेको बताए ।
शक्तिपीठ थप विकास गरी धार्मिक पर्यटनको रुपमा विकास गरिए प्रदेशको समृद्धिमा योगदान मिल्ने निश्चित रहेको बताउँदै मन्त्री साहले भने ‘प्रदेश सरकारको नजर त छिन्नमस्ता शक्तिपीठमाथि छ नै, अन्य श्रोतबाट समेत लगानी गर्न चाहिरहेको छ त्यसैले संरक्षण सम्वद्र्धन समितिले थप चासो लिनु जरुरी छ ।’ प्रदेशका अन्य मन्त्री तथा सांसदका साथै संघले समेत छिन्नमस्ताको नाममा भौतिक पूर्वाधारतर्फ बजेट विनियोजन गरेको जानकारी दिँदै उनले समयमै काम सम्पन्न भए थप बजेट आउने बाटाहरु समेत प्रशस्त रहेको बताए ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख र सशर्त अनुदानबाट २५ लाख समेत गरी कुल ५० लाखको लागतमा निर्माण हुन लागेको ‘विश्रामगृह’को निर्माण कार्य यथाशक्य चाँडो सम्पन्न गर्न समेत मन्त्री साहले निर्देशन दिएका छन् । समयमै निर्माण कार्य सम्पन्न भए आफुले थप बजेटकालागि समेत पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सुविधासम्पन्न कोठा तथा सभाहल समेत रहने दुई तल्ले विश्रामकक्ष निर्माण जेठ महिनाभित्रै सम्पन्न हुने गरी द्रुत गतिमा काम अगाडि बढाईसकिएको शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए । उक्त अवसरमा संघीय समाजवादी फोरम नेपालका नेताहरु शम्भु झा, सत्यनारायण यादव, दिनेश कुमार यादव, संघीय प्रेस फोरम प्रदेश नम्वर २ का अध्यक्ष श्यामसुन्दर यादव, पार्टीका जिल्ला अध्यक्ष केदार यादव, पार्टीका छिन्नमस्ता गाउँपालिका समिति अध्यक्ष महेश यादव लगायत स्थानीय नेताहरुको समेत उपस्थिति थियो ।