• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पाठ्यपुस्तकमा सिण्डिकेट : भएन निर्णय कार्यान्वयन, अवस्था उस्तै

अन्ततः विद्यार्थी संगठनले कागजी लडाई जिते । तर, पाठ्य पुस्तक किन्नुपर्ने विद्यार्थी र तिनका अभिभावकको अवस्था भने ज्यूँका त्यूँ छ । पुस्तक महलमा हिजो जे थियो, आज पनि कुनै परिवर्तन छैन ।
पाठ्यपुस्तकमा सिण्डिकेट : भएन निर्णय कार्यान्वयन, अवस्था उस्तै

राजविराज, १६ वैशाख । स्वभावतः ब्यवसायीले मुनाफा खोज्छ । उनीहरु सरकारी इजाजतवाटै मुनाफा आर्जन गर्छन् । तर, सर्वसाधारणलाई वाध्य पारेर मुनाफा आर्जन गर्नु गलत हो । त्यसमाथि सवै ब्यवसायी मिलेर विकल्पै नराखी सर्वसाधारणलाई वाध्य पार्नु कानुनतः अपराध हो। त्यसैले सरकारले नै भएभरका सवै सेन्डिकेट खारेज गर्ने निर्णय गरेको छ ।
तर, सप्तरी सदरमुकाम राजविराजमा भने वैशाख पहिलो सातादेखि ‘पुस्तक महल’ नामको नयाँ सेन्डिकेट सुरु भयो । निजी विद्यालयहरुको सेटिङ्गमा केहि पुस्तक ब्यवासयीले राजविराजमा पुस्तकको सेन्डिकेट चलाए । विद्यार्थीले त्यसको चर्को विरोध गरे । अभिभावकहरु भने आलोचना गर्ने मै सिमित भए, किनकी उनीहरुसँग विकल्प थिएन ।
राजविराजका केहि नाम चलेका पुस्तक व्यवसायीहरुले पुस्तकमा सिण्डिगेड सुरु गरेको र अभिभावकलाई आर्थिक र मानसिक भार थपेको भन्दै विद्यार्थीले गत सोमवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पनि वुझाए । ज्ञापन पत्रमा सरकारले हरेक क्षेत्रमा सिण्डिगेड अन्त्य भएको घोषणा गरिसकेकाले पुस्तक व्यवसायीले निजी विद्यालयसँग मिलेर सञ्चालनमा ल्याएको पुस्तक महल बन्द गर्नुपर्ने माग थियो ।
जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन टोलीलाई पुस्तक महल अनुगमन गर्न निर्देशन दियो । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार यादवको नेतृत्वमा अनुगमनको प्रक्रिया पनि पुरा भयो । तर, महलको वारेमा यथार्थ सार्वजनिक गर्नुपर्नेमा मुद्दालाई डाईभर्ट गर्न ‘यथार्थ पत्ता लगाई कारवाही गर्नु’ भन्दै प्रशासनले स्थानीय तहलाई पत्र लेख्यो । जिल्ला प्रशासनले अहिलेसम्म पनि पुस्तक महल बारे कुनै प्रतिक्रिया जनाएको छैन् ।
विद्यार्थीले तातो आक्रोस देखाएर पुस्तक महलमा तालावन्दि गरे । तालावन्दिकै प्रभावले ब्यवसायी र विद्यार्थी संगठनको वैठक वस्यो । पुस्तक महलवाट पुस्तक विक्रिवितरण अन्त्य गर्ने, र सवै पसलवाट सहज रुपमा पुस्तक उपलब्ध हुने वातावरण वनाउने गत शनिवार लिखित सहमति भयो । यसअघि पाठ्यपुस्तकमा छुट नदिने निर्णय गरेका ब्यवसायी सकेसम्म छुट दिने कुरामा पनि सहम भए । अन्ततः विद्यार्थी संगठनले कागजी लडाई जिते । तर, पाठ्य पुस्तक किन्नुपर्ने विद्यार्थी र तिनका अभिभावकको अवस्था भने ज्यूँका त्यूँ छ । पुस्तक महलमा हिजो जे थियो, आज पनि कुनै परिवर्तन छैन ।
यता,विद्यार्थी संगठनले गरेको सहमति प्रति एकतर्फ कतिपय विद्यार्थी नेताहरुले नै आशंका व्यक्त गरेका छन् भने अभिभावकहरुले निर्णय कार्यान्वयन नभएको गुनासो गर्न थालेका छन् । ‘विद्यार्थी संगठनले गरेको सहमति कार्यान्वयन भएन्’ विन्देश्वर यादवले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । उनले छुट नदिएको गुनासो गर्दै पुस्तकको विल समेत राखेर अनुगमन गर्न आग्रह समेत गरेका छन् ।
नेविसंघ आवद्ध महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस इकाइ समितीका सदस्य राकेशकुमार ठाकुरले महलमा तालाबन्दी गरे लगत्तै विद्यार्थी संगठनका ठेकेदारहरुले दारु (मदिरा) र पैसाको प्रलोभनमा परेर विद्यार्थी र अभिभावकलाई मारमा पार्ने गरि सम्झौता गर्न लागेको सामाजिक सञ्जालमार्फत लेखेका थिए ।
ठाकुरले स्टेट्सको विषयमा न्यूज टुडेसँग भने–‘आफुले त पहिले नै भनेको हो, विद्यार्थी संगठनका केहि ठेकेदारहरु मिलेर सहमति गरेकोले कार्यान्वयन नहुँदा पनि चुप लागेको छ ।’ उनले थप–‘अभिभावक र विद्यार्थीहरुले आफै वुझ्नुपर्छ, यहाँ के भएको हो ।’
स्टेट्सको विषयलाई लिएर आफुलाई कारवाही समेत गरिएको भन्दै हल्ला फिजाएको उनले बताए । यता, समाजवादी विद्यार्थी फोरमका प्रदेश सदस्य श्यामकुमार यादवले पुस्तक पहलमा सिण्डिकेट अनुसार पुस्तक विक्री वितरण अन्त्य भएको बताए । तथापी, छुट नदिएको विषयमा आफुहरु समक्ष जानकारी नआएको तथा छुट नदिएको पाइएमा विद्यार्थीहरुलाई सहजता प्रदान गर्न थप कदम उठाउने बताए ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले सहमति कार्यान्वयन भएको÷नभएको विषयमा वुझ्ने तथा कार्यान्वयन नभएको देखिएमा कारवाही प्रक्रिया अगाडी बढाउने बताए । यसैबीच, नेविसंघ जिल्ला कार्य समिती सप्तरीले सोमवार विज्ञप्ति जारी गर्दै विद्यार्थी नेता रोकेशकुमार ठाकुरलाई कारवाही गरिएको प्रति ध्यानाकर्षण तथा खेद प्रकट गरेको छ ।
संघका अध्यक्ष पार्थो सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,–‘म आधिकारीक सभापति हुँदा हुँदै कुनै व्यक्तिले संगठनलाई समाप्त पार्ने कार्यमा लागेकोले यस्तो हल्ला फिजाएको छ ।’ यस्तो कार्य नगर्न सचेत गराउँदै ठाकुरमाथि कुनै किसिमको कारवाही नगरिएको विज्ञप्तिमा उल्लेख छ ।