• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा मेडिकल कलेज स्थापनाकालागि प्रक्रिया शुरु

सुझाव समितिद्वारा जग्गा निरीक्षण एवम् सम्भाव्यता अध्ययन
राजविराजमा मेडिकल कलेज स्थापनाकालागि प्रक्रिया शुरु

राजविराज, ६ वैशाख । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाव समितिद्वारा शुक्रवार प्रतिष्ठानका लागि प्रस्तावित जग्गा निरीक्षण गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका १० स्थित बिरौलमा रहेको प्रस्तावित ६२ बिगाह जग्गा छनौट गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का शिक्षाध्यक्ष डा. सुवोध अधिकारीको संयोजकत्वमा गठित सुझाव समितिको टोलीले स्थलगत जग्गा निरीक्षणका साथै वस्तुस्थिथितिबारे जानकारी लिएका छन् ।
उक्त टोलीले निर्माण स्थलको निरीक्षण तथा उपलब्ध जनप्रतिनिधिहरुसँग सम्भाव्यताबारे छलफल समेत गरेको छ । संयोजक अधिकारीले हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारको योजना रहेको जानकारी दिए । उनका अनुसार प्रदेश नम्वर २ को राजविराजमा प्रतिष्ठान बन्ने बताए । यसअघि प्राविधिक टोलीले जग्गाको निरीक्षण गरी स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाएको समेत उनले बताए ।
प्रतिष्ठान स्थापना भएपछि चिकित्सा शास्त्र अध्ययन गर्न चाहनेका लागि अवसर र प्रदेश नम्वर १ र २ का बिरामीहरुका लागि स्तरीय उपचार सुविधा प्राप्त गर्ने अवसर भएको उनले जानकारी दिए । स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनाले स्थानीय तहमा स्वास्थ्य सेवा सुविधाका साथै रोजगारीको अवसर समेत बढ्ने उनले बताए । उनका अनुसार चाँडै डिपीआर तयार हुने र निर्माणको काम पनि अघि बढ्ने छ । उक्त टोलीमा समितिका सल्लाहकार डा. भगवान कोइराला, सदस्यहरु डा. विनोद यादव, डा. सतिस देव र सदस्य सचिव डा. वसन्त अधिकार सहभागी थिए ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव समेतले टोलीलाई स्वागत गर्दै वस्तुस्थितिबारे जानकारी गराए ।
मन्त्रिपरिषद्को गत २३ पुष २०७५ को वैठकले राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।