के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नवनिर्मित मन्दिरमा अवनेश्वर अंकुरी महादेवको मूर्ती स्थापना

नवनिर्मित मन्दिरमा अवनेश्वर अंकुरी महादेवको मूर्ती स्थापना
Bwtech New Add With Software & Bull SMS

राजविराज, ५ वैशाख । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर–१ खुरहुरिया स्थित रामजानकी मन्दिर प्राङ्गणमा नवनिर्मित मन्दिरमा अवनेश्वर अंकुरी महादेवको मूर्ती स्थापना गरिएको छ ।
स्थानीयवासिन्दा समेत रहेका समाजसेवी डा. शिवशंकर यादवले व्यक्तिगत खर्चमा आकर्षक एवम् कलात्मक मन्दिर निर्माण गरेका हुन् । उक्त मन्दिरमा अवनेश्वर अंकुरी महादेवको शिवलिङ्ग बुधवार स्थापना गरिएको छ ।
रामानन्दी सम्प्रदायको प्रसिद्ध उक्त स्थलमा मङ्गलवार कलश यात्रा पश्चात त्रिदिवसीय रुद्र महायज्ञ समेत आयोजना गरिएको थियो । महायज्ञ तथा प्राण प्रतिष्ठा कार्यक्रममा त्यसभेगका वासिन्दाहरुको सहभागिता रहेको थियो । रुद्र महायज्ञ एवम् प्राण प्रतिष्ठा कार्यक्रममा पं. रामनारायण शास्त्री र आचार्य अच्छेलाल शास्त्रीले विधिविधान अनुसार पूजाआजा तथा यज्ञ सफलतापूर्वक सम्पन्न गराएका छन् ।
करिब १५ ईन्च चौडाई तथा सात–आठ ईन्च मोटाई भएको उक्त शिवलिङ्ग मंसिर ९ गते रामजानकी मन्दिर अगाडिको पोखरीमा भेटिएको थियो । स्थानीय राजेन्द्र प्रसाद यादवले नुहाउने क्रममा पोखरीको पानीमा कालो पत्थरको उक्त मूर्ती खुट्टामा छोएपछि हातले छाम्दा गोलो वस्तु रहेको थाहा पाए ।
नुहाएर पूजा गरेर आएपछि पुनः करिब एक फिट गहिरो पानीमा खन्दा शिवलिङ्ग फेला परेको थियो । उक्त मूर्तीलाई उनले केही दिन घरमै राखेर पूजाआजा गर्दैआएका थिए । सोही क्रममा डा. शिवशंकर यादवले मन्दिर बनाउनमा लाग्ने सम्पूर्ण खर्च व्योहोर्ने प्रतिवद्धता गरेपछि नजिकै रहेको रामजानकी मन्दिर प्राङ्गणमा नयाँ कलात्मक मन्दिर निर्माण गरियो । उक्त मन्दिरमा मूर्ती स्थापना, रुद्र महायज्ञ तथा भण्डारा समेत आफ्नै खर्चमा आयोजन गरेको मूर्ती फेलापार्ने राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
रामानन्दी सम्प्रदायको अति पुरानो उक्त स्थलमा सौन्दर्यीकरणका साथै व्यवस्थित गर्न भ्याएसम्मको प्रयास गर्ने डा. यादवले प्रतिवद्धता व्यक्त गरे ।

Online Saptari

About The Author

%d bloggers like this: