• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मालपोत कार्यालयमै शुरु भयो बैकिङ्ग सेवा

राजविराज, ४ वैशाख । सप्तरीको राजविराज स्थित भुमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीबाट खुलेआम घुस लिने गरेको भनी गुनासो भईरहँदा कार्यालयमै बैंकिङ्ग सेवा थालिएको छ ।
कार्यालयमा छिट्टो काम गरिदिने नाममा कर्मचारीले सेवाग्राहीबाट गैरकानूनी रुपमा रकम लिने गरेको भनी व्यापक गुनासो बढेपछि कार्यालयमा नगद कारोवारलाई अन्त्य गरी वैंक मार्फत राजश्व सङ्कलन कार्य थालिएको हो । प्रभु बैंकले मालपोत कार्यालयको हाताभित्रै राजश्व संकलन काउण्टर स्थापना गरी वुधवारदेखि सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले औपचारिक रुपमा उदघाटन गरेका छन् ।
प्रभु बैंकको राजविराज शाखा अन्तर्गत काउण्टर सञ्चालन हुने प्रभु बैंकको प्रदेश नम्वर १ का उप विजनेश अफिसर आकाश दाहालले जानकारी दिएका छन् । उनका अनुसार सरकारी कामकाज मार्फत पनि सर्वसाधारणलाई वैंकिङ्ग पद्धतिमा जोडने प्रयास अन्तर्गत राजश्व काउण्टरको अवधारणा सुरु गरिएको हो ।
प्रभु बैंंकले मुलुकका विभिन्न स्थानमा गरी ८ वटा सरकारी निकायमा राजश्व संकलन काउण्टर सञ्चालन गरी सेवा दिदै आएको तथा २ साताभित्रै भन्सार कार्यालय राजविराजमा समेत काउण्टर सञ्चालनको तयारी भएको उनले बताए । १ सय ७१ शाखा कार्यालय मार्फत करिव १२ लाख जनतालाई प्रभु बैंकले सेवा दिँदै आएको दाहालको भनाई छ ।
भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीका प्रमुख सिकिन्द्र प्रसाद साहले ‘कार्यालयमा अतिरिक्त पैसा नलिनई कर्मचारीले कामै गर्दैनन्’ भन्ने गुनासो कम गर्न बैंकिङ्ग काउण्टरबाट मद्दत मिल्ने बताए । जनशक्ति अभावका कारण काम ढिलो हुने र कतिपयको कामै नहुने अवस्था आएपछि सेवाग्राहीले आर्थिक कुरा जोडेर कर्मचारीलाई बदनाम गर्ने गरेको उनले बताए ।