• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उपभोक्ता संरक्षण ऐन कार्यान्वयन आवश्यकः मुख्यमन्त्री राउत

उपभोक्ता संरक्षण ऐन कार्यान्वयन आवश्यकः मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ बैशाख । प्रदेश मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले मङ्गलवार जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले ऐन कार्यान्वयनमा तीनै तहको सरकार बीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याए । खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन ल्याउनुपर्ने उनले धारणा राखे ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा उनले मानिसको स्वास्थ्यसित खेलवाड गर्ने छुट कसैलाई नरहेकोले विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिए ।
ऐन कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा पर्न बाध्य रहेको मुख्यमन्त्री राउतले थपे । खाद्यान्नमा बढ्दो विषादीको कारण उपभोक्ता गम्भीर प्रकृतिको रोगबाट ग्रसित हुनुपरेको उनले उल्लेख गरे । स्थानीय बजारमा खुल्ला रुपमा विक्री गर्ने खाद्य सामाग्रीको अनुगमन गर्ने जिम्मा स्थानीय सरकारको रहेको बताउँदै मुख्यमन्त्री राउतले अनुुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
गुणस्तरीय समानसहित उपभोक्ताले सेवा पनि पाउनुपर्ने जिकिर गर्दै यसको लागि सरोकारबालाहरु गम्भीर भएर अघि बढनुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा जनकपुर उप–महानगरपालिकाका प्रमुख लालकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, उपभोक्ता हित संरक्षण मञ्च, नेपालका अध्यक्ष ज्योती बानियाँ, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।