• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिडियो कार्यालयमा कर्मचारी अभाव, सास्ती झेल्न बाध्य छन् सेवाग्राही

सिडियो कार्यालयमा कर्मचारी अभाव, सास्ती झेल्न बाध्य छन् सेवाग्राही

राजविराज, २७ चैत्र । जिल्ला प्रशासन कार्यालय सप्तरीमा विगत केही महिनायता कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् ।
लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका हुन् । प्रमुख जिल्ला अधिकारी सहित ३३ जनाको दरबन्दी रहेकोमा हाल ७ जना कर्मचारी मात्र छन् । सहायक प्रमुख जिल्ला अधिकारी, दुई प्रशासकीय अधिकृत, ३ नायव सुब्बा र दुई जना खरिदार समेतको दरबन्दी खाली रहेको छ ।
चाँडो काम गराउने आश लिएर सेवाग्राहीहरु कार्यालय खुल्नु अघिदेखि नै लाइनमा बस्ने गर्छन् । तर दिनभरी लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राहीहरु घर फर्किनुपर्ने बाध्यता छ । सेवाग्राहीहरुको निवेदनमा तोक लगाउने एक जना मात्र अधिकृत रहेकोले दुई दिनसम्म धाउँदा पनि काम हुन नसकेको राजविराज नगरपालिका वडा नम्वर–१ उमेश यादवको गुनासो छ ।
यस्तै दुःखेसो सुनाउँछन् विष्णुपुर गाउँपालिका वडा नम्वर–१ भुवनेश्वर मण्डलको पनि । नागरिकता प्रतिलिपी लिनकालागि अघिल्लो दिन काम नभएपछि आफु दोस्रो दिन सिडियो कार्यालय आएको जानकारी दिँदै उनले भने ‘आज पनि लामो लाइन छ, काम होला कि नहोला, त्यसको सुनिश्चितता छैन ।’
जिल्लाको विभिन्न स्थानबाट सेवा लिन आए पनि छिटो छरितो सेवा प्रवाह हुन नसक्दा आफुहरु सास्ती झेल्न बाध्य रहेकोले अविलम्व कर्मचारी व्यवस्थापन गर्न सेवाग्राहीहरुको आग्रह छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सिडिओ (सहसचिव) सहित ३३ जनाको दरबन्दी छ । त्यसमध्ये सहायक सिडिओको दरवन्दी समेत लामो समयदेखि खाली रहेको छ । तीन जना प्रशासकीय अधिकृत मध्ये पनि २ जना अधिकृतको दरबन्दी खाली छ ।
नायब सुब्बा १० मध्ये ३ र खरिदार ५ मध्ये २ जनाको दरवन्दि पनि खाली छ । लामो समयदेखि १ जना अधिकृत र ३ जना खरिदारको भरमा कार्यालय संचालन गर्न हम्मे–हम्मे पर्ने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । आफुले गृहमन्त्रालयमा कुरा गरेको भन्दै तत्काल दुई जना अधिकृत पठाउने प्रक्रिया अघि बढीसकेको उनले जानकारी दिए ।