• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

स्वर्णपदक विजेता अजित सम्मानित

खेल र खेलाडिहरुको प्रोत्साहन आवश्यकः पूर्वमन्त्री यादव
स्वर्णपदक विजेता अजित सम्मानित

राजविराज, २२ चैत्र । हङ्कङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्णपदक विजेता अजितकुमार यादवलाई राजविराजमा सम्मान गरिएको छ ।
पूर्व शिक्षामन्त्री समेत रहेकी सांसद रेणु कुमारी यादव र प्रदेश सभा सदस्य अभिशेक यादवले संयुक्त रुपमा उनलाई शुक्रवार सम्मान गरेका हुन् । संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् तराई–मधेश प्रदेश समितिकी संयोजक यादवले दोसल्ला, नगद ५ हजार एक रुपैयाँसहित सम्मान गरेकी छिन् । किर्तिमानी खेलाडि अजितलाई पार्टीका नेता तथा पत्रकारहरुले समेत बधाई एव्म शुभकामना दिएका छन् ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री यादवले देशको शीर उँचो पार्ने काम गरेको भन्दै सरकारले थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । सप्तरी सहित मधेशमा प्रतिभावान खेलाडिहरु रहे पनि उचित प्रोत्साहन पाउन नसकेको बताउँदै उनले भने ‘मधेशमा अजित जस्ता युवा खेलाडिहरुलाई सरकारले जुन हिसाबले सम्मान दिनुपर्ने हो, त्यो गर्न सकेको छैन ।’
नेपालमा खेलको प्रवल सम्भावना रहेको भन्दै देश चिनाउने खेलाडिहरुलाई जिवनजिविकाको सुनिश्चितता हुनुपर्ने बताईन् । प्रदेश २ सरकारले खेल र खेलाडिहरुको प्रोत्साहन गर्न आवश्यक गृहकार्य गरिरहेको जानकारी दिँदै उनले भनिन् ‘देश चिनाउने खेलाडिहरुको विषयमा प्रदेश सरकार गम्भीर रहेकोले योजनावद्ध रुपमा बढ्नेमा म विश्वस्त छु ।’ खेलाडिहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गर्दै आफुले समेत सक्दो सहयोग गर्ने पूर्वमन्त्री यादवले बताईन् ।
प्रदेश सभा सदस्य अभिशेक यादवले खेलाडिहरु देशको गहना भएकोले वर्तमान अवस्थामा थप प्रोत्साहन आवश्यक रहेको बताए । खेलाडिहरुको प्रोत्साहन तथा प्रदेशमा खेल मैदान निर्माण तथा स्तरोन्नतीकालागि प्रदेश सरकारकोतर्फबाट पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सम्मान ग्रहण पश्चात स्वर्णपदक विजेता यादवले आफुले नेपालको झण्डा विश्वस्तरमा फहराएर आएको बताए । हिमाल, पहाड र तराई जो जहाँ जुनसुकै कुनामा बस्ने सबै नेपाली राष्ट्रियता भएकोले सबैले देशको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले विश्वमा देशलाई चिनाउने खेलाडिहरु र खेल क्षेत्रको विकासकालागि सरकारले ठोस रणनीतिका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । आगामी दिनमा आफुले उच्च मनोबलकासाथ अगाडि बढ्ने प्रतिवद्धता समेत खेलाडि यादवले व्यक्त गरे ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, संघीय प्रेस फोरम नेपालका प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, युवा नेता लक्ष्मण यादव, गोपाल झा, खेलाडि अजितका पिता पवन यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
गत चैत्र ४ गते हङ्कङको घरेलु मैदानमा भएको प्रतियोगितामा तीन हजार मिटरको दौडमा अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेर स्वर्णपदक विजेता घोषित भएका थिए ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको तर्फबाट स्वर्ण पदक विजेता अजितलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । यसअघि राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले १ लाख १ हजार नगद पुरस्कार सहित सम्मान गरेका छन् । यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पुरस्कार स्वरुप ५१ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । यस्तै उनलाई टिभीएस कम्पनीले पुरस्कार स्वरुप मोटरसाइकल सहित सम्मान गरेका थिए ।