• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश सरकारद्वारा मृतक परिवारलाई ३ लाख दिने घोषणा

सहयोगकोलागि सबै पक्षसँग अपील
प्रदेश सरकारद्वारा मृतक परिवारलाई ३ लाख दिने घोषणा

जनकपुरधाम, १८ चैत । आइतवार राति आएको भिषण हावाहुरीका कारण बारामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत तथा उद्धारमा सहयोग गरि दिन सबै पक्षसंग आह्वान गरेको छ ।
विहान बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपदमा परि निधन भएका मृतक परिवारलाई तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यसै गरि प्रदेश सरकारले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहार्ने र प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषदको बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिमा समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको उपसचिव समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
यसै गरि मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही बेरमै खाता नम्बर सार्वजनिक गरिने जनाइएको छ । सरकारले यस दुःखद घडीमा सम्पूर्ण संघ, संस्था, उद्योगी व्यवसायी र प्रदेश तथा देशवासीलाई हातेमालो गर्न आह्वान समेत गरेको छ ।