• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रयोग विहिन माटो तथा मल परीक्षण प्रयोगशाला

कार्यालय परिसरमा त्यसै थन्कियो घुम्ती बस
प्रयोग विहिन माटो तथा मल परीक्षण प्रयोगशाला

राजविराज, २ चैत्र । सप्तरीको राजविराजमा प्रदेश स्तरीय ‘माटो तथा मल परीक्षण प्रयोगशाला’ स्थापना भएको करिब तीन महिना बित्नै लाग्दा पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।
प्रदेशका किसानहरुको सेवा सुविधाका साथै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साग जिल्ला समन्वय समितिको भवनमा प्रयोगशाला सञ्चालन भएको हो । गत पुष १३ गते उक्त प्रयोगशालाको औपचारिक उद्घाटन प्रदेश नम्वर २ का भूमी व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरेका थिए ।
प्रदेश २ का ८ वटा जिल्लाका किसानलाई केन्द्र मार्फत सेवा दिने लक्ष्य राखिएको छ । माटो तथा मल परिक्षण गर्ने र माटो अनुसारको कृषी वालीका लागि सिफारिस गर्ने उदेश्य राखिएको छ । यद्यपी बजेट, दरवन्दी अनुसारका कर्मचारी तथा उपकरण अभावका कारण प्रयोगशालाको काम हालसम्म पनि पूर्ण रुपमा अगाडि बढ्न सकेको छैन ।
कर्मचारी समेत कार्यालय आउने, दिनभर बस्ने र साँझ परेपछि घर फर्कने गरेका छन् । उपकरण नहुँदा प्रयोगशाला सञ्चालनमा आउन नसकेको कार्यालय प्रमुख तथा माटो विज्ञ सुनिलकुमार सिंहले बताए ।
‘कार्यालय उद्घाटन त भयो, तर अहिलेसम्म उपकरण आएका छैनन्’ सिंहले भने–‘कर्मचारी र वजेट अभावका कारण पनि उदेश्य अनुसारको काम हुन सकेको छैन ।’ कार्यालय सञ्चालनसम्मको खर्च नहुँदा समस्या परिरहेको सिंहले गुनासो गरे । उनका अनुसार करिव ५० लाख मुल्य वरावरको उपकरण ल्याउन सके तत्कालका लागि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने छन् ।
यता सरकारले स्वायल किट वक्स वितरण तथा माटो शिविर सञ्चालनका लागि १७ लाख रुपैयाँको कार्यक्रम पठाएपनि हालसम्म काम अघि बढ्न सकेको छैन । ५० थान किट वक्स वितरणका लागि ५ लाख र १२ वटा शिविर सञ्चालनका लागि १२ लाख रुपैयाँको कार्यक्रम आएको सिंहले जानकारी दिएका छन् ।
आठ वटै प्रदेशका स्थानीय तह र कृषि ज्ञान केन्द्रलाई पत्राचार गरेर शिविरका लागि वातावरण वनाइ दिन आग्रह गरिए पनि त्यसको जवाफ नआएको उनले बताए । स्थानीय तहले माटो परीक्षण र कृषि पेशालाई महत्व नदिदा केन्द्रको काम अघि वढ्न नसकेको उनको स्वीकारोक्ति छ ।
केन्द्रले साढे २ महिनाको अवधिमा एउटा मात्रै सिविर सञ्चालन गरेको छ । सप्तरीकै अग्निसाईर कृष्णासवरण गाउँपालिका–२, सितापुपरका ८७ जना किसानको माटो परीक्षण गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी प्रयोगशालाको उच्च प्रविधि युक्त घुम्ति बस समेत प्रयोग विहिन बन्न पुगेको छ । कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत वस उपलब्ध भएको हो । प्रमुख सिंहका अनुसार घुम्ती बसमा ३० देखि ४० किसिमका माटो परिक्षण गर्न सक्ने करिव १ करोड रुपैयाँ वरावरका उपकरण जडान गरिएको छ । आठ ओटा जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर जमिनको माटो परिक्षण, माटो अनुसार मलको प्रयोग र कृषि वालि सिफारिस गर्ने उदेश्यले वस सञ्चालनमा ल्याईएपनि प्रयोगमा नआएको उनले बताए । स्थानीय तह, कृषि ज्ञान केन्द्र र एनजिओहरुले शिविरका लागि वातावरण बनाई दिए हामी गएर काम गर्ने उनले जानकारी दिए ।