राजविराज , ३० फागुन । भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले व्यवसायिक च्याउ खेतीका लागि प्रदेश सरकारले आवश्यक उपकरण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजविराज नगरपालिकाको सहयोग तथा सामाजिक न्याय तथा विकास समाज संस्था राजगढ गाउँपालिकाको आयोजनामा सप्तरीको राजविराजमा सञ्चालित व्यवसायिक च्याउ खेती प्रविधि विषयक तीन दिने कृषक तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कृषिलाई वैज्ञानिक तरीकाबाट परिमार्जन गर्नुपर्ने आवश्यकता रहेकाले महिलाहरुलाई च्याउ खेती लगायतका विभिन्न व्यवसायिक खेती गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग समेत गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
आयोजक संस्थाकी अध्यक्ष सावित्री पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार राज, नगरपालिकाका जयराम यादव, निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्च सप्तरीका अध्यक्ष अजय कुमार झा, कृषि ज्ञान केन्द्रका सुवालाल मण्डल, पत्रकार शुभ नारायण यादव, सन्तोष यादव, राप्रावि खैरसालका प्रधानाध्यापक चन्द्रिका यादव, धीरेन्द्र यादव, बुधनारायण यादव, लालदेव यादव, देवलाल यादव लगायतले च्याउ खेती गर्ने प्रतिवद्धता व्यक्त गरे ।